२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

कांग्रेस महाधिवेशनः भारतीय नम्बरका गाडीले मतदाता ओसार्ने, पानी ट्याङ्कीमा भोट खसाल्ने


२६ मंसिर, काठमाडाैँ । नेपाली कांग्रेसको महाधिवेशनमा अत्याधिक मात्रामा भारतीय नम्बर प्लेटका गाडीहरू प्रयोग भएको पाइएको छ । भारतको पश्चिम बंगाल,बिहार र उत्तर प्रदेश राज्यको नम्बर प्लेटका स्कोरिपियो जीपहरु व्यापक प्रयोग भएका छन ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा मंगलम ट्यांकी कम्पनीबाट ९५ वटा पानी ट्यांकी मतपेटिका बनाउनकाे लागि ल्याइएकाे छ । मतपत्र ठूलो हुने भएपछि कांग्रेसले ट्याङ्की प्रयोग गर्नुपरेको जनाएको छ ।

नेपाली कांग्रेसको जारी महाधिवेशनमा शनिबार परेका उम्मेदवारी फिर्ता लिनका लागि आज आइतबार बिहान ११ बजेसम्मका लागि समय छुट्याइएको छ ।

कांग्रेस निर्वाचन समितिका अनुसार त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । समितिले शनिबार राति उम्मेदवारकाे प्रथम नामावली प्रकाशन गरिसकेकाे छ । जसअनुसार १३४ पदका लागि ५४८ जनाकाे उम्मेदवारी परेकाे छ । सभापतिमा मात्र ६ जनाकाे उम्मेदवारी परेकाे छ । जसमा चार जना प्यानललसहित चुनावी मैदानमा छन् ।

क्रम अनुसार सभापतिका लागि कल्याणकुमार गुरुङ, युवराज न्यौपाने, प्रकाशमान सिंह, डा शेखरप्रसाद कोइराला, विमलेन्द्र निधि र शेरबहादुर देउवालो उम्मेवादरी दर्ता गराएकाे समितिले जानकारी दिएकाे छ ।

आज मध्याह्न सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने जनाइएको छ । सोमबार बिहान ८ बजेदेखि मतदान हुने जनाइएको छ ।

राष्ट्रियसभा गृह, महेन्द्र पुलिस क्लब र भृकुटीमण्डप गरि तीन स्थानमा मतदानको व्यवस्था मिलाइने जनाइएको छ । मतदान मतपत्र मार्फत गर्नु पर्ने छ । विद्युतीय मतदानको व्यवस्था गर्ने भनिएको भए पनि हुन नसकेको कांग्रेसले जनाएको छ । मतदानका लागि एक जनालाई ४५ मिनेट भन्दा बढी समय लाग्ने अनुमान गरिएको छ ।

महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको संख्या ४ हजार ७४३ रहेको निर्वाचन समितिले जनाएको छ । कांग्रेसको विधानअनुसार सभापतिका उम्मेदवारले जितका लागि ५० प्रतिशतभन्दा धेरै मत ल्याउनुपर्छ । कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याए सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणको निर्वाचन हुने व्यवस्था छ ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आईतवार ०८:३६

https://srdb.com.np/