२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

सडकले निम्त्याएकाे विनाश : निदाउँदैनन् स्थानीय, स्थानीय सरकारकाे बेवास्ता

ओखलढुंगा, २५ मंसिर । जना  जताततै निर्माण गरिएका  ग्रामीण सडकले सुविधा मात्र दिएकाे छैन, बाढीपहिराेकाे जाेखिम पनि त्यत्तिकै निम्त्याएकाे छ । बर्सेनि हिउँदमा खनिएका कच्ची सडकबाट बगेकाे भेलले स्थानीयकाे उठिबास मात्र भएकाे छैनन् ज्यानसमेत गुमाएका छन् ।

वातवरणीय प्रभाव मुल्यांकन र मानववस्तीमा हुने क्षतिकाे आंकलन नगरी निर्माण गरिएका दीर्घकालीन महत्वका सडकसमेत नागरिकका लागि सुविधाभन्दा दशा बनेकाे हेर्न ओखलढुंगाकाे मानेभञ्ज्याङ्ग गाउँपालिका-२ उबूं  पुग्दा हुन्छ । दुधकाेशी एकवार सडक निर्माणका क्रममा भत्काइएकाे पहाडबाट सुरु भएकाे पहिराे अहिले वस्तीसम्मै आइपुगेकाे छ । गत असाेजमा सुरु भएकाे पहिराे अहिले सुख्खायाममा समेत पूर्ण रुपमा खस्न राेकिएकाे छैन ।

पहिराेले वडा नं १ र २ का वस्ती उच्च जाेखिममा छन् । मानेभञ्ज्याङ गाउँपालिका- १ चुनेका ७२ वर्षीय असलमाया राई हिजाेआज निदाउन सक्दिनन् । घरमुनि  दुधकोशी नदी किनार हुँदै खसेको पहिरोले उनको निन्द्रा खोसिएको हो । पहिरोले घरैमुनि भएको खेतबारी बगाउन थालेकाे छ । उनले भनिन्, ‘अब के खाने कहाँ जाने चिन्ता लागेको छ । आफूले कमाई खाँदै आएको खेतबारी पनि पहिरोले तानिसक्याे घरै जाला भन्ने पीर भो ।’

स्थानीय सरकारकाे बेवास्ता : पहिराे पीडित भएका एक दर्जन परिवारकाे सुरक्षित आवाशकाे अधिकार सुनिश्चित गर्न स्थानीय सरकारले भने चासाे दिएकाे छैन । स्थानीयस्तरमा केही गर्न सकिने अवस्था नै नरहेकाले पीडितहरूलाई आफैं सुरक्षित रहन आग्रह मात्र गरेकाे छ । पहिराेले गाउँ मात्र जाेखिममा परेकाे छैन, गाउँका नागरिक स्थानीय बजार जयरामघाटसम्म आवतजावत गर्ने एकमात्र बाटो पनि पहिरोले बगाएको छ । नेपाल सरकारले कच्ची सडक खनेको स्थान हुँदै पहिरो खसेपछि मानेभञ्ज्याङ गाउँपालिका र खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका तल्लो भेगका नागरिक बढी प्रभावित छन् । त्यहाँका नागरिकलाई बजारसँग जोड्ने बाटो नै बगाएपछि दैनिक उपभोग्य वस्तु किनमेल गर्नै समस्या देखिएको छ ।

पहिरोले मानिसहरू आवतजावत गर्ने बाटोसमेत छैन । भएको बाटो बगायो, किनमेल गर्न जाने बजारसँगै सम्बन्ध टुटेको छ । जान त सकिन्छ तर पहिरोको जोखिम मोलेर पहिराेको शीरबाट जानुपर्छ । स्थानीय सरकारले भने डरलाग्दाे पहिरोले त्रसित बनेका स्थानीयलाई सचेत रहन आग्रह गरेको छ । स्थानान्तरण र पुनर्स्थापनाका काम गर्न नसकिने भन्दै आफैँ सुरक्षित रहने भनिएकाे हाे ।

पहिरो तत्काल रोकिने अवस्थाको नरहेकाले सुरिक्षत रहन र पहिरो आसपासको क्षेत्रमा खेतीपातीसमेत नगर्न गाउँपालिकाले आग्रह गरेको छ । गाउँपालिकाका अध्यक्ष मोतीराज राईले तत्काल जोखिममा रहेका नागरिकलाई अन्यत्र सार्न सकिने अवस्था नरहेकाे बताए । उनले यस विषयमा छलफल गरेर पहल गर्ने बताएका छन् ।

भाैगर्भिक अध्ययन आवश्यक : तत्काललाई पहिरो नियन्त्रणको कुनै उपाय नभए पनि यसको दीर्घकालीन समाधानका लागि भौगर्भिक अध्ययन गर्न आवश्यक रहेकाे सराेकारवालना निकायकाे भनाइ छ । पहिराेपीडितले भने सुरक्षित पुनर्वासकाे माग गरेका छन् ।  पहिराेपीडितकाे विषयमा समाचारहरू प्रकाशित भएपछि जिल्ला विपत् व्यवस्थापन समितिले स्थानीय सरकारका प्रतिनिधिसमेत बाेलाएर अध्ययन गरेकाे छ । हर्कपुर सडक आयाेजना अन्तर्गत निर्माण थालिएकाे उक्त सडक  विनाअध्ययन जथाभावी खन्दा समस्या आएकाे स्थानीयकाे गुनासाे छ ।

अचानक पहिराे आएकाे र त्यस क्षेत्रमा पहिराे जान सक्ने पूर्वानुमान नभएकाे सडक आयाेजनाकाे भनाइ छ ।  पहिरोले स्थानीयको खेतबारी नै बगाउने अवस्था आएपछि गृह मन्त्रालयमा यसको अध्ययनका लागी पत्राचार गर्ने र यसको दिगोपनाका लागि आवश्यक प्रकृया अगाडी बढाइने सडक डिभिजन कार्यलय हर्कपुरका डिमभजन प्रमुख अरुणकुमार लालकर्णले बताए ।

पहिरोका कारण तत्काल तीनघर स्थानीय जोखिममा छन् भने अन्य १० भन्दा बढी घरपरिवार प्रभावित छन् । उनीहरूले खेती गर्दै आएका जमिनलाई समेत पहिरोले तान्ने अवस्था आएपछि स्थानीय झनै मर्कामा परेका छन् । स्थानीयको समस्या बुझ्न र पहिरो अवलोकनका लागि केही दिनअघि पुगेको स्थानीय सरकार र स्थानिय प्रशासनको टोलीले त्रसित सथानियलाई ढाडस दिएको छ । प्रहरीले पहिरोबाट सुरक्षित रहन र आवश्यक परेको खण्डमा तत्काल कार्यलयमा सम्पर्क राख्न भनेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार १६:०८