२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

हाटबजार नहुँदा बिचौलियाको मारमा सिन्धुलीका किसान

२१ मंसिर, सिन्धुली । सिन्धुलीमा व्यावसायिक रूपमा तरकारी खेती गर्नेको संख्या बढे पनि बजार व्यवस्थापनदेखि आर्थिक तथा प्राविधिक सहयोग नपाइएको भन्दै किसानहरू असन्तुष्ट भएका छन् । यातयातको समस्या र बिचौलियाको कारण उत्पादनको उचित मूल्य नपाएको किसानको गुनासो छ ।

करिब १० वर्ष अगाडिदेखि व्यावसायिक तरकारी खेती गदै आएकी कमलामाई नगरपालिका–४ ज्यामिरेकी लिला श्रेष्ठले तरकारी बजारसम्म पुर्‍याउन स्थानीय सरकारले चासो नदिएको गुनासो गर्छिन् ।

‘उत्पादन भएको तरकारी बजारसम्म पुर्‍याउन समस्या छ । बाटोको समस्या छ । बजारसम्म पुग्दा मूल्य भनेअनुसार पाएको छैन । आफैँले बिक्री गर्न पाए केही नाफा हुन्थ्यो कि, विचौलियालाई दिनुपर्छ,’ उनले भनिन् ।

व्यावसायीक रूपमा मौसमी तथा बेमौसमी तरकारी खेती गदै आएकी लिला कृषि उपज बजारमा आफुले उत्पादन गरेको तरकारी आफैले बिक्री गर्ने गरी व्यवस्था मिलाइदिए सहज हुने बताउँछिन् ।

‘सिन्धुलीमाढीको कृषि उपज बजारमा एउटा सटरको व्यवस्था मिलाइदिए आफूले उत्पादन गरेको तरकारी आफैँले बेच्न पाइन्थ्यो । तरकारीको उचित मुल्य पनि पाइन्थ्यो,’ उनले भनिन् ।

पायक पर्ने स्थानमा हाटबजार नहुँदा बिचौलियाको मारमा पर्ने गरेको उनले बनाइन् । ‘हामीले एक महिना लगाएर उत्पादन गरेको तरकारीमा जति नाफा हुन्छ, बिचौलियाले दुःख नै नगरी एकैदिनमा कमाउँछन्,’ उनले भनिन्, ‘बिचौलियाको अन्त्य गर्न कृषि हाटबजारको खाँचो छ, नगरपालिकाले पायक पर्ने स्थानमा हाटबजार राख्नुपर्दछ, जुन स्थानमा उपभोक्ताले सोझै किसानको उपज खरिद गर्न पाउनेछन् ।’

स्थानीय सरकार गठन र जनप्रतिधिको आगमनलाई सहाराका रुपमा बुझेको भए पनि बितेको चार वर्षमा सोहीअनुरुप महसुस गर्न नपाइएको किसानको गुनासो छ । किसानले फलाएका तरकारी र फलफूल सिन्धुलीलगायत छिमेकी जिल्लाका बजारसम्म पुग्ने गरेका छन् ।

सिन्धुलीमा नौवटा स्थानीय तह छन् । स्थानीय सरकारले तरकारी खेती र फलफूल खेतीमा दिएको अनुदान तथा प्राविधिक सहयोग पर्याप्त नभएको आठ वर्षदेखि व्यावसायिक तरकारी खेती गदै आएका कमलामाई नगरपालिका–४ ज्यामिरेका दिलीपकुमार श्रेष्ठले गुनासो गरे ।

‘स्थानीय तहले कृषिका अनुदान दिने गरे पनि त्यो अनुदान पाउनै समस्या छ । सबै किसानलाई पुग्ने गरी अनुदान दिनुपर्ने हो,’ उनले भने । करिब चार रोपनी जमिनमा व्यावसायिक तरकारी खेती गदै आएका गोलन्जोर गाउँपालिका–६ ग्वाल्टारका खेमबहादुर बस्नेतले स्थानीय तहबाट कृषिका अनुदान नपाएको गुनासो गरे ।

उत्पादन गरेको तरकारीको बजार व्यवस्थापनदेखि आर्थिक तथा प्राविधिक सहयोग नपाएको उनले बताए । ‘स्थानीय तहबाट अहिलेसम्म केही सहयोग पाएको छैन । कृषिमा बजेट नै कम छुट्टाउँछन् । प्राविधिक सहयोग पनि पाएको छैन,’ उनले भने ।

जिल्लाका ज्यामिरे, चपौली, नागीलगायतका क्षेत्रमा तरकारी उत्पादनको सम्भावना भए पनि बजारसम्म पु¥याउन किसानलाई समस्या हुने गरेको छ । तरकारी तथा फलफूल बिक्री गर्ने सिन्धुलीमाढी कृषि उपज बजार भए पनि आफूहरूले त्यस ठाउँमा स्थान नपाएको किसानको गुनासो छ । यता कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले किसानका समस्या नगरले सम्बोधन गर्नेे बताउँछन् ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलवार १७:५४