२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

खोटाङमा मतदाता नामावली संकलन अभियान सुरु

१७ मंसिर, खोटाङ । आसन्न निर्वाचनलाई मध्यनजर गर्दै खोटाङमा फोटोसहितको मतदाता नामावली संकलन अभियान सुरु गरिएको छ । आउँदो चैतमा हुने भनिएको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्लाका १० स्थानीय तहमध्ये पहिलो चरणमा शुक्रबारदेखि केपिलासगढी गाउँपालिका, रावाबेँसी गाउँपालिका, साकेला गाउँपालिका र जन्तेढुंगा गाउँपालिकामा मतदाता नामावली संकलन अभियान सुरु गरिएको हो ।

‘कोही नछुटुन्, कोही नदोहोरिउन्’ भन्ने नारासहित पहिलो चरणको मतदाता नामावली संकलनको काम आगामी २६ मंसिरसम्म जारी रहने जिल्ला निर्वाचन कार्यालय खोटाङका सूचना अधिकारी नासु लोकेन्द्रकुमार राईले बताए ।

मतदाता नामावली संकलन अभियानलाई सफल बनाउनका लागि रावाबेँसी गाउँपालिकाले वडा–वडामै कर्मचारी पठाउने व्यवस्था मिलाएको छ । १८ मंसिरदेखि २३ मंसिरसम्म प्रत्येक वडाबाट मतदाता नामावली संकलन गर्ने र त्यस पछिका समयभित्र छुटेका मतदाताको नामावली संकलन गरिने गाउँपालिकाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र इलाका प्रशासन कार्यालय रहेको खोटेहाङ गाउँपालिकामा भने त्यहीबाट नियमितरुपमा फोटोसहितको मतदाता नामावली संकलन भइरहेको अवस्थामा अन्य पालिकामा भने अभियान सञ्चालन गरेर मतदाता नामावली संकलन सुरु गरिएको हो । फोटो सहितको मतदाता नामावली संकलनका लागि प्रत्येक पालिकामा ४/४ जना कर्मचारी खटाइएको छ ।

चार जनामध्ये एक जना कर्मचारी जिल्ला निर्वाचन कार्यालयले खटाएको छ भने सम्बन्धित स्थानीय तहबाट एक जना निर्वाचन सम्पर्क व्यक्ति (दर्ता स्थल व्यवस्थापक), एक जना सहायक दर्ता कर्मचारी र एक जना दर्ता स्थल सहयोगी जुटाइएको छ ।

दोस्रो चरणमा २९ मंसिरदेखि ९ पुससम्म फोटो सहितको मतदाता नामावली संकलन अभियान सञ्चालन हुने छन् । दोस्रो चरणमा ऐसेलुखर्क गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र बराहपोखरी गाउँपालिकामा मतदाता नामावली संकलनको तयारी गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मतदाता नामावली दर्ताका लागि १८ वर्ष पुगेका नागरिकले नागरिकताको सक्कल र प्रतिलिपि सहित तोकिएको स्थानमा पुग्नुपर्ने छ । तोकिएको समय अवधिभित्र अन्य जिल्लाका नागरिकले पनि जिल्ला निर्वाचन कार्यालयमा पुगेर फोटो सहितको मतदाता नामावली दर्ता गर्न सक्ने जनाइएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार २१:१५