१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

बाह्रबिसे कप खुल्ला राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगिताः रत्न, नवीन, प्रफुल र दीपेश सेमिफाइनलमा


१७ मंसिर, काठमाडाैँ । बाह्रबिसे कप खुल्ला राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ । प्रतियोगितामा पुरुष एकल तर्फ सेनाका रत्नजित तामाङ, नवीन श्रेष्ठ र प्रफुल महर्जन तथा एपिएफका दीपेश धामी अन्तिम चारमा प्रवेश गर्न सफल भएका छन् ।

रत्नले नेपाल पुलिसका दीपक बोहरालाई २१–६,२१–१० ले पराजित गर्दै सेमिफाइनलमा प्रफुल महर्जनसँगको भेट पक्का गरे । महर्जनले एपिएफका साजन कृष्ण ताम्राकारलाई २१–१७, २१–१४ को सेटमा पराजित गरे ।

अर्को खेलमा सेनाका नवीन श्रेष्ठले सेनाकै रुकेश महर्जन माथि २१–१२, २१–१५ को जित निकाले । नवीनले अव फाइनल प्रवेशका लाग एपिएफका दीपेश धामीसँग प्रतिस्पर्धा गर्ने छन् । धामीले पुलिसका विष्णु कटुवाललाई २१–१०, २१–१४ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन् ।

पुरुष युगल तर्फ सेनाका सुरोज महर्जन र पविन लिनथेपको जोडीले अन्तिम चारमा स्थान बनाएका छन् । महर्जन र लिनथेपको जोडीले बालकुमारी रिमिक्सका दिप्रिस मुनी बज्राचार्य र सुमन शाक्यको जोडीलाई २१–१३, २२–२० को सेटमा पराजित गर्दै सेमीमा स्थान बनाएका हुन् ।

अव यस जोडीले बुटवलका सुशील गिरी र विवेक न्यौपानेको जोडीसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । गिरी र न्यौपानेको जोडीले साइनो स्पोर्टस् हलका अभिषेक बोस र सुजन थापाको जोडीलाई २८–२६, २१–१६ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन् ।

यस्तै सेमिफाइनल प्रवेश गर्ने अर्को जोडीमा कास्कीका विधान अधिकारी र विशाल खड्काको जोडी रहेका छन् । सो जोडीले एपिएफका एसिया जवेगु र नवीन सिलवालको जोडीलाई २२–२०, १२–२१, २१–१६ को सेटमा पराजित गर्दै सेमिफाइनलमा बालकुमारी रिमिक्सका ससिन डङ्गोल र सुमित महर्जनको जोडीसँग प्रतिस्पर्धा गर्ने भएका छन् । डङ्गोल र महर्जनको जोडीले बाह्रबिसेका अभिषेक गुरुङ र त्रिपुरासुन्दरीका आशिष् तामाङको जोडीलाई २१–१८, १३–२१, २१–१४ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् ।

सिल्क ग्रुपको प्रायोजन, बाह्रबिसे नगरपालिकाको सहयोग तथा खुर्सानीबारी खेलकुद कभर्डहलको आयोजनामा भएको प्रतियोगितामा महिला एकल तर्फ सेनाकी अमिता गिरीले सेनाकै रोज पाण्डेलाई २१–१४, २१–१० ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरिन् । अव अमिताले फाइनल प्रवेशका लागि पुलिसकी निता लम्सालको सामना गर्ने छिन् । लम्सालले एपिएफकी शोभा गौचनलाई २१–७, २१–१२ ले पराजित गरिन् ।

अर्को खेलमा सेनाकी रसिला महर्जनले एपिएफकी सुनैना मुखियालाई २१–९, २१–१० ले पराजित गर्दै सेमिफाइनलमा सेनाकै अनुमाया राईसँगको भेट पक्का गरिन् । राईले सेनाकै प्रेक्षा राईलाई २१–११, २१–१३ ले पराजित गर्दै सेमिफाइन पुगेकी हुन् ।

प्रतियोगिताको सेमिफाइनल तथा फाइनल खेल भोलि शनिवार सम्पन्न हुने प्रतियोगिताका रेफ्रि अनुप रत्न शाक्यले जानकारी गराएका छन् ।

५ लाख ५० हजार पुरस्कार राशि रहेको प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीहरूले पुरुष एकल तर्फ १ लाख २५ हजार, ६५ हजार र ३० हजारका साथै मेडल, प्रमाण पत्र, महिला एकल तर्फ ५० हजार, २५ हजार र १२ हजार ५ सयका साथै मेडल र प्रमाण पत्र, पुरुष युगल तर्फ १ लाख, ५० हजार र २५ हजारका साथै मेडल र प्रमाण पत्र, जिल्लास्तरिय युगल तर्फ र भेट्रान्स युगल तर्फका खेलाडीहरूले गिफ्ट ह्याम्परका साथै मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार २१:१४