११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

सवारीसाधनको कारबाहीबाट ५५ लाख राजश्व संकलन

१२ साउन,सल्यान । सवारी साधनको कारबाहीबाट गत वर्ष सल्यानमा रु ५४ लाख ८० हजार राजश्व संकलन भएको छ । ट्राफिक नियम उल्लंघन गर्ने १० हजार २६० सवारी साधनको कारबाहीबाट उक्त राजश्व संकलन भएको हो ।

ट्राफिक नियम उलंघन गर्ने मोटरसाइकलबाट रु २७ लाख ९६ हजार, ट्र्याक्टरबाट रु सात लाख ७५ हजार, जीपबाट रु ६ लाख ६७ हजार, ट्रकबाट रु सात लाख ७६ हजार र बसबाट रु आठ सय ४६ राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

कारबाहीमा पर्ने सबैभन्दा बढी मोटरसाइकल रहेको जिल्ला ट्राफिक कार्यालय सल्यानका इन्चार्ज गोपाल शर्माले जानकारी दिनुभयो । जिल्लामा पाँच हजार २२५ मोटरसाइकल कारबाहीमा परेको उहाँले जानकारी दिनुभयो ।

यस्तै उक्त अवधिमा एक हजार ४९९ ट्र्याक्टर, एक हजार २६४ जीप, एक हजार ४२६ ट्रक र ८४६ बस कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

“सवारी साधनमा क्षमता भन्दा बढी यात्रु ओसारपसार गर्ने, क्षमता भन्दा बढी सामान लोड गर्ने, कृषि परियोजनका लागि खरीद गरेका यातायातका साधनमा ट्रली जडान गरेर नियम उलंघन गरेको पाइएको छ,” इन्चार्ज शर्माले भन्नुभयो, “लाइसेन्स नभएका र लाइसेन्स भए पनि साधन चलाउँदासँगै नराख्ने सवारी चालक र सञ्चालकलाई पनि कारबाही गरिएको छ ।”

प्रकाशित मिति : July 28, 2018 at 5:13 pm