दोलखाबासीलाई खुशीको खबर, माथिल्लो तामाकोशीको शेयर काठमाडौंबाटै भर्न पाइने
१२ साउन, काठमाडौँ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा आवेदन दिन थप सहज बनाइएको छ । राष्ट्रिय गौरवको आयोजनालाई आमनागरिकको सहभागिता गराउने लक्ष्यका साथ तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा आवेदन दिन सहज तुल्याइएको हो ।
नेपाली लगानीमा निर्माण भइरहेको ४५६ मेगावाट क्षमताको सो आयोजनामा धेरैभन्दा धेरै नागरिकको सहभागिता गराउने लक्ष्यका साथ काठमाडौँबाटै सेयरमा आवेदन दिन मिल्ने व्यवस्था गरिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । तामाकोशीको साधारण शेयर यही साउन १६ देखि भदौ १४ गतेसम्म बिक्री गरिनेछ ।
आयोजना प्रभावित दोलखाका स्थानीयवासी र सर्वसाधारणलाई गरी रु दुई अर्ब ६४ करोड ७५ लाख बराबरको दुई करोड ६४ लाख ७५ हजार कित्ता साधारण शेयर बिक्री गर्न लागेको छ । स्थानीयवासीलाई शेयर बाँडफाँड गरेपछिमात्रै आमनागरिकलाई शेयर बिक्री गर्ने तयारी गरिएको छ ।
प्रकाशित मिति : १२ श्रावण २०७५, शनिबार १०:४७