राष्ट्रिय बिमा संस्थानको नाफा ५२ दशमलव ३२ प्रतिशतले बढ्यो
२ मंसिर, काठमाडौँ । राष्ट्रिय बिमा संस्थानले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थानले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा संथानले एक करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको तुलनामा ५२ दशमलव ३२ प्रतिशतले बढी हो । गत वर्ष संस्थानले एक करोड दुई लाख रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिसम्ममा संस्थानको खुद बिमा शुल्क आम्दानी पनि सात दशमलव ६३ प्रतिशतले बढेर चार अर्ब ५३ करोड रुपैयाँ कायम भएको छ । गत वर्ष संस्थानले चार अर्ब २१ करोड रुपैयाँ खुद बिमा शुल्क कमाई गरेको थियो ।
समीक्षा अवधिसम्ममा संस्थानको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ छ । संस्थानको जगेडा कोषमा ३५ करोड ७७ लाख रुपैयाँ छ । संस्थानले यस अवधिसम्ममा ९५ करोड ५७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।
त्यसैगरी, कम्पनीले जीवन बिमा कोषमा ३० अर्ब ४९ करोड रुपैयाँबाट बढेर ३७ अर्ब १४ करोड पुगेको छ । यस संस्थानले हासम्म सर्वसाधारणमा सेयर जारी नगरेकाले नेप्सेमा सूचीकृत भएको छैन ।
प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार १५:२८