२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

राष्ट्रिय जनगणना २०७८ : धेरै खर्च, लामो प्रश्नावली

२४ कात्तिक, धनगढी । नेपालमा १२औं राष्ट्रिय जनगणना बिहीबारदेखि सुरु हुँदै छ । केन्द्रीय तथ्याङ्क विभागले गणनाको तयारी पुरा गरिसकेको जनाएको छ ।

बिहीबारदेखि हुने जनगणना अघिल्लो जनगणनाभन्दा निकै खर्चिलो हुने भएको छ । ११औं जनगणना करिब डेढ अरब खर्च भएको थियो । तर, यस पटक ४ अरब खर्च हुने अनुमान गरिएको छ । खर्च बढ्ने पहिलो कारण यस पटक पुरा तलब दिएर गणकलाई खटाइएको छ ।

११औं सम्म शिक्षकलाई गणकका रूपमा खटाइने गरिन्थ्यो । शिक्षकलाई आधा मात्रै भत्ता खुवाइने गरिन्थ्यो । तर, यस पटक तथ्याङ्क विभागले कक्षा १२ पास गरी बेरोजगार रहेका युवा, युवायुवतीलाई पुरा तलब दिएर गणकका रूपमा परिचालन गरेको छ ।

जसका कारण यस पटकको जनगणना धेरै खर्चिलो हुने छ । केन्द्रीय तथ्याङ्क विभागका उपसचिव हेमराज रेग्मीका अनुसार पहिलेको भन्दा यस पटक कर्मचारीको तलब वृद्धि भएको छ भने गणकलाई पुरा भत्ता दिइने छ । जस कारण यस पटक गणकमा मात्रै सबैभन्दा बढी खर्च हुनेछ । तथ्याङ्क विभागले यसपटक जनगणनाका लागि ४० हजार गणक देशभरि परिचालन गरेको छ ।

यसैगरी यस पटकको राष्ट्रिय जनगणनामा अघिल्लो जनगणना भन्दा धेरै प्रश्न समावेश गरिएका छन् । यस कारण पनि यो जनगणना खर्चिलो हुने छ । १२औं जनगणनामा ८० वटा प्रश्नावली रहेका छन् । लामो प्रश्नावली भएका कारण गणकलाई तथ्याङ्क संकलन गर्न धेरै समय लाग्ने छ ।

यसले पनि खर्च बढाएको उपसचिव रेग्मीले बताए । ‘विकसित देशमा सिस्टममै धेरै कुराको तथ्याङ्क आउने गरेको छ,’ उपसचिव रेग्मीले भने,‘तर नेपालमा धेरै कुरा गणनाबाट नै संकलन गरेर तथ्याङ्क संकलन गर्नुपर्ने भएका कारण प्रश्नावली बढी भएका छन्, बिस्तारै प्रश्नावली संख्या घटाइने छ ।’

उनले यसपटक ४० हजार युवावुवतीले रोजगारी पाउने बताए । ‘११औं जनगणनासम्म शिक्षकलाई नै गणकका रूपमा परिचालन गर्दा अन्यले रोजगारी पाउँदैनथे,’ उनले भने,‘तर यस पटक शिक्षक लाई खटाइएको छैन, जसका कारण ४० बजार बेरोजगारले आंशिक रोजगारी पाएका छन् ।’

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार १८:४४