१५ असार २०८१, शनिबार | Sat Jun 29 2024

निर्मलाको ह्याट्रिकमा ललितपुर क्वाटरफाइनलमा


२३ कात्तिक, काठमाडौँ । विभागीय खेलाडी निर्मला विकको ह्याट्रिककाे मद्दतमा ललितपुर महानगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

एन्फा मुख्यालयको मैदानमा मंगलबार भएको खेलमा ललितपुरले झापाको शिवसताक्षी नगरपालिकालाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको अन्तिम आठमा स्थान सुरक्षित गरेकाे हाे ।

ललितपुरको जितमा नेपाल पुलिस क्लबकी स्ट्राइकर समेत रहेकी निर्मलाले ह्याट्रिक गर्दा मनिषा सेनले एक गोल गरिन् । ह्याट्रिककर्ता निर्मला विक खेलको प्लेअर अफ दि म्याच घोषित भइन । उनले पाँच हजार रुपैंयाँसहित ट्रफी प्राप्त गरिन । ललितपुरले सेमिफाइनल प्रवेशका लागि झापाको कनकाई नगरपालिका र कैलालीको गोदावरी नगरपालिकाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

आजकाे अन्तिम तथा दोस्रो खेल बर्दियाको बाँसगढी नगरपालिका र धनगढी उपमहानगरपालिबीच भइरहेकाे छ । प्रतियोगिताको विजेता र उपविजेता राष्ट्रिय महिला लिगमा छनोट हुनेछ । यस प्रतियोगिताको विजेताले पाँच लाख पाउँदा उपविजेताले दुई लाख ५० हजार पाउँनेछन् ।

राष्ट्रिय महिला लिगमा तीन विभागीय क्लब (नेपाल पुलिस, एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब) वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकासहित आठ क्लबको सहभागीता रहनेछ ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलवार १५:२३