११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

मध्यपुर थिमि नगरपालिकाको बजेट १ अर्ब १८ करोड

९ साउन,भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि कूल रु एक अर्ब १८ करोडको बजेट निर्माण गरेको छ ।

नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले आज यसबारे जानकारी दिँदै आर्थिक वर्ष २०७४/०७५ को तुलनामा चालु आवमा रु ४४ करोड १ लाख ११ हजार अर्थात ६३ प्रतिशतले वृद्धि गरी बजेट ल्याएको बताउनुभयो ।

नगरपालिकाले चालुतर्फ रु १४ करोड ८७ लाख ७० हजार, सामाजिक सुरक्षातर्फ रु आठ करोड, विषयगत शाखातर्फ रु १५ करोड पाँच लाखको बजेट विनियोजन गरेको छ । पूँजीगततर्फ रु ८० करोड सात लाख ३० हजार रकम विनियोजन गरेको छ ।

कूल विनियोजित बजेटमा साधारण खर्च १२ प्रतिशत, सामाजिक सुरक्षा खर्च ७ प्रतिशत, विषयगत शाखाको १३ प्रतिशत र पूँजीगत खर्च ६८ प्रतिशत बजेट विनियोजन गरेको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७५/०७६ का लागि नगरपालिकाले आन्तरिक स्रोतवाट रु ५२ करोड ५८ लाख ६६ हजार, प्रदेश सरकारको समानीकरण अनुदान रु ९३ लाख ५० हजार, प्रदेश सरकारको सशर्त अनुदान रु ३ करोड ५७ लाख ३६ हजार, संघीय सरकारको समानीकरण अनुदान रु २१ करोड ३३ लाख, संघीय सरकारको सशर्त अनुदान रु १५ करोड ५ लाख, संघीय र प्रदेश सरकारको राजश्व वाँडफाँडको रकम रु १२ करोड ७७ लाख ४८ हजार, सामाजिक सुरक्षा भत्ता रकम रु ८ करोड र अन्य स्रोतबाट रु ३ करोड ७५ लाख आय हुने अनुमान गरिएको छ ।

नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवालीले आव २०७४/०७५ का लागि नगरपालिकाले कूल रु ७३ करोड ९८ लाख ८९ हजार बजेट विनियोजन गरेकोमा यही असार २२ गते सम्म चालुतर्फ रु १३ करोड ५९ लाख ५७ हजार २११ अर्थात ७७ प्रतिशत र पूँजीगततर्फ रु ३० करोड ४१ लाख १३ हजार १९५ अर्थात ५४ प्रतिशत खर्च भएको बताउनुभयो ।

नगरपालिकाले स्वास्थ्य, सरसफाई तथा खानेपानी, ढल निकास, शिक्षा, खेलकुद र कला संस्कृति, भौतिक पूर्वाधार विकास, लक्षित समुदाय तथा वर्गका लागि प्रवद्र्धनात्मक कार्यक्रम, सार्वजनिक क्षेत्रको संरक्षण र पुनः निर्माण, प्रशासनिक पुनः संरचना र क्षमता विकास, नगर क्षेत्रका जग्गा एकीकरण आयोजना व्यवस्थापन र मध्यपुर उज्यालोलाई प्राथमिकता दिएको छ ।

प्रकाशित मिति : July 25, 2018 at 6:53 pm