तिहारको व्यापकता र सामाजिक महत्व
-आरबी खड्का
तिहार हाम्रा चाडहरू मध्येको एक महत्त्वपूर्ण चाड हो। कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथिदेखि कार्तिक शुक्ल पक्षको द्वितीया तिथिबीचको पाँच दिन मनाइने चाड हो तिहार। पाँच दिनसम्म मनाइने चाडको पहिलो दिन काग तिहार र दोस्रो दिन कुकुर तिहार पर्छ । तेस्रो दिन गाई तिहार, चौथो दिन गोरु तिहार र पाँचौं दिनलाई भाइ तिहार भनिन्छ ।
पाँच दिनसम्मको यो अवधिलाई यमपञ्चक भनिन्छ । यो पाँच दिवसीय पर्व विशेष गरी नेपालमा मनाइन्छ । हिन्दू धर्मावलम्वीले दीपावली (दिवाली)को रूपमा यस पर्वलाई धूमधामसाथ मनाउँछन् । यस पर्वको नाम हिन्दी शब्दको ‘त्योहार’ शब्दबाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ। यसलाई दीपावली अनि दिवाली नामले पनि चिनिन्छ । नेपालबाहिर बस्ने हिन्दू नेपालीहरू पनि यस चाडलाई उतिकै महत्त्व दिई मनाउँछन्।
सामाजिक महत्व:
तिहारको सांस्कृतिक पक्ष पनि छ । भारत तथा नेपाल कृषि प्रधान देश हुन्। जब कृषक आफ्नो खेतमा सुनौलो फसल उमारेर अन्न रूपी संपत्ति घरमा ल्याउँने समय जब हुन्छ तब उसको खुशी एवं उमंगको सीमा हुँदैन। यस खुशीको अवसरमा उ भगवानको कृपा मानेर कृतज्ञता प्रकट गर्न पूजा गर्दछ।
पहिले दशैं अनि त्यसको पन्ध्र दिनपछि आउने तिहार दुवै पर्वमा देवी दुर्गाका विभिन्न रूपहरूको पूजा–आराधना गरिन्छ । सम्पत्तिकी देवी लक्ष्मीको पूजा घरमा अन्न धेरै आओस् भन्ने उद्देश्यमा गरिएको पनि अनुमान गरिन्छ। दक्षिण एशियाका धेरै देशमा विशेष गरि भारत, नेपाल, भूटान र बर्मा म्यानमारमा यो पर्व विभिन्न प्रकारले मनाइन्छ ।
काग तिहार:
काग तिहार कार्तिक कृष्ण त्रयोदशी का दिन पर्छ । यमपन्चकको पहिलो दिन तिहारमा कागको पूजा गर्दा फूल, अक्षताले आकाश तिर छर्किदै पुज्दै–ऐन्द्रवारुणवायव्यां याम्यां वै नैऋतास्तथा । वायसा प्रतिगृहृणन्तु मया दत्तं वलिंत्विमम् ।’ भन्ने मन्त्रले कागलाई बोलाएर दहीभात आदि खाद्यपरिकार दिनुपर्ने शास्त्रीय प्रावधान छ ।काग सर्वभक्षी प्राणी हो । यसको पूजा गर्नुका विभिन्न कारण छन् ।
कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्नबालीमा लाग्ने कीरा–फट्याङग्राहरू खाइदिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ । काग यमराजको अत्यन्त प्रिय भक्त पनि हो । त्यसैगरी हाम्रो समाजमा प्रचलित काकगवेषणा, काकन्याय, काकबलि आदि विविध शब्द कागसँगै सम्बन्धित छन् ।
जंगलमा हिंस्रक जनावर देख्दा कागले आवाज निकालेर अन्य जीवजन्तुलाई खतराको पूर्वसंकेत दिन्छ । कुनै प्राकृतिक विपत्ति आउने बेलामा यसले अनौठो व्यवहार देखाउने र अनौठो आवाज निकाल्ने काम गर्छ । त्यसैगरी हाम्रो समाजमा प्रचलित काकगवेषणा, काकन्याय, काकबलि आदि विविध शब्द कागसँगै सम्बन्धित छन् ।
कुकुर तिहार:
यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरतिहार मनाइन्छ, जसका सम्बन्धमा विभिन्न धार्मिक एवं सामाजिक मान्यता रहँदै आएको छ ।
कुकुर यमराजको अर्को प्रियभक्त हो । कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन–अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ । कुकुरले घरको रेखदेख तथा चोर–डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ । त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ ।
गाई तिहार अनि लक्ष्मी पूजा:
तिहारको पाँच दिनमध्ये तेस्रो दिन कार्तिक कृष्ण अमावश्या अर्थात् औंसीको दिन हो । यो दिनलाई गाई तिहार पनि भनिन्छ । यो दिनको राति धनकी देवी लक्ष्मीको पूजा गरिन्छ । कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्न अघि गाईको गोबरले घर–आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर–कोठा–चोटा पवित्र तुल्याउने हिन्दूहरूको संस्कार छ । दीपावलीमा तमसोमा ज्योतिर्गमय अर्थात् अन्धकारबाट प्रकाशतर्फ लागी आफूलाई आत्मिक रूपमा सुख–सन्तोष प्रदान गर भन्ने यो दिन चेलीबेटीहरू भैलो खेलेर रमाइलो गर्छन् ।
गाईलाई लक्ष्मीको प्रतिकात्मक मानेर त्यसै दिन लक्ष्मीपूजा पनि गरिन्छ । अर्को रोचक तथ्य महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मदिनः विक्रम सम्वत् १९६६ साल कार्तिक २७ गते गाई तिहारे औंसी लक्ष्मीपूजाका दिन काठमाण्डौको धोवीधारामा जन्मेका हुनाले यिनको नाम लक्ष्मीप्रसाद देवकोटा राखिएको हो ।
गोरु तिहार :
तिहारको चौथो दिन वा कार्तिक शुक्ल प्रतिपदाको दिनलाई गोरु तिहार भनिन्छ । यस दिन गोरुको पूजा गरी मीठा खानेकुरा तथा पिठो खान दिने चलन छ । पूजा गर्न फूल, अबिर, केशरी, जौ, तिल, धूप, कपूर, चामलको पिठो आदिको आवश्यकता पर्छ । बाली लगाउने प्राणीका रूपमा गोरुको सम्मानमा यो पूजा गरिन्छ ।
सप्तरंगी :
सप्तरंग सूर्यको सात रगंको प्रतीक हो, जो इन्द्रेणीमा पनि देखिन्छ । सूर्य भन्या सौर्य मण्डलको अधिपति हो । अनि सौर्य शक्तिको आराधनाद्वारा शरीर र मनलाई पुनर्ताजगीको लागि सप्तरंगी टीका लगाइएको हो । सबै शक्ति तिमीमै केन्द्रित होस् भन्ने अर्थमा यस्तो गरिएको हो ।
भाइ तिहार (भाइ टीका):
यमपञ्चकको पाँचाैँ दिन भाइ तिहार पर्छ । यो दिन दिदीबहिनीले दाजुभाइको पूजा गरेर निधारमा सप्तरंगी टीका तथा माला लगाइदिने चलन छ । भाइटीकाका दिन सप्तरंगी रंग, पूजा सामग्री, तेल, दूबो, ओखर, सयपत्री, गोदावरी एवं मखमलीका माला, शृंगारका सामान (ऐना, गाजल), मिष्ठान्न परिकार, उपहार, दियो, कलश आदि सामग्रीको आवश्यकता पर्छ ।
दाजुभाइलाई तिहारमा काजु, पेस्ता, काजी बदाम, सुपारी, ल्वाङ, अन्जिर, दाख, फलफूल आदि दिने चलन छ भने सेलरोटी, अनरसा, विभिन्न किसिमका मिठाईं पनि प्रदान गरिन्छ । सोही दिन यमराजकी दिदी यमुनाले आफ्ना भाइ यमराजको पूजा गरेको विश्वास गरिन्छ ।
यो पर्व दाजुभाइ तथा दिदीबहिनीबीच भेटघाट हुने एवं सम्बन्ध प्रगाढ बनाउने शुभ अवसर पनि हो । दिदीबहिनीद्वारा कहिल्यै नसुक्ने तेल तथा दूबोले छेकी नओइलाउने मखमली एवं सयपत्री फूलको माला लगाइदिने चलन छ । शत्रुले दु:ख दिन नसकून् भनी ढोकामा ओखर फोरी सप्तरंगी टीका लगाइदिएर मीठा–मीठा परिकार ख्वाउने चलन छ । टीका लगाइदिएपछि दिदीबहिनीले उपहार दिन्छन् भने दाजुभाइले पनि आफ्नो गच्छेअनुसार वस्त्र तथा दक्षिणा आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख(समृद्धि, अरोग्य एवं दीर्घायूको कामना अन्तर्नि्हित छ ।
यसको मुख्य आशय भाइबहिनीबीच प्रगाढ सम्बन्ध रहिरहोस् भन्ने नै हो । शास्त्रहरूमा दिदीबहिनीलाई दयाको मूर्ति मान्दै ‘दयायाः भगिनी मूर्ति’ भनिएको छ । समय र परिस्थिति मुताबिक अरू चीजझैं चाडपर्वमा पनि स्वाभाविक परिवर्तन हुन्छ । तर यसको मर्मलाई बुझ्न सक्नुपर्छ । प्रकृतिको संरचना र सन्तुलन नबिगार्ने, संसारका सबै प्राणीसहित वस्तुहरूमा ईश्वरीय स्वरूप देख्ने, लौकिक जीवनमा उपयोगी वस्तुलाई सम्मान गर्ने, लोक–कल्याणका लागि प्रेरित रहने लगायतका अनेकौं समन्वयात्मक सन्देशहरू तिहारले बोकेको छ ।
उज्यालोको पर्व:
झिलिमिली उज्यालो बोकेर आउने तिहारले दाजुभाइ र दिदीबहिनीबीचको आत्मिययता झल्काउने चाड पनि हो, चाडपर्वको सांस्कृतिक, आर्थिक,सामाजिक,आध्यात्मिक पक्षहरु हुन्छन् । नेपालजस्तो बहुधार्मिक,सांस्कृतिक देशमा मनाइने पर्वहरुमा हुने आर्थिक गतिविधिहरुले चाडलाई सबैको बनाउन मद्दत पु¥याएको हुन्छ ।
पछिल्लो समयमा हरेक चाडपर्वमा विकृति पनि मिसिन थालेको छ । जुवातास तिहारमा मिसिएको यस्तै विकृति हो । जुवातासले कसैको हित गर्दैन । तिहारमा जुवा खेल्नैपर्छ भन्ने जुन संकथन निर्माण भएको छ, त्यो गलत छ ।
देउसी र भैलौमा रहेको मौलिकता बिर्सेर अन्धाधुन्ध विदेशीको नक्कल गरिनु मौलिकता मास्नु हो । तिहारको माचोले छोपिसकेको छ । तिहारसँगै नेवारी समुदायको नेपाल संवत्, मधेशमा मनाइने छठ पनि ढोकैमा आएका छन् । नेपालमा मनाइने यी चाडहरु आपसी भाइचार अभिवृद्धिका कारक बनून् ।
प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार १७:१६