२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

१९ कात्तिक, काठमाडाैँ । आज गोवर्द्धन पूजा । गोवर्धन भनेको व्रजमण्डलको एक प्रसिद्ध पर्वत हो । यसलाई भगवान कृष्णको स्वरुपसमेत मानिन्छ । यसलाई गिरिराज पनि भनिन्छ । द्वापर युगमा व्रजवासीलाई भारी वर्षाबाट बचाउन भगवान कृष्णले यसै पर्वतलाई कान्छी औंलाले उठाएका थिए ।

यो पर्वत हाल भारतको उत्तरप्रदेशमा छ । मथुराबाट बीस किलोमिटर उत्तरमा छ । सात किलोमिटर लम्बाई र दुई किलोमिटर चौडाइ रहेको यस पर्वतको उचाए भने अत्यन्तै थोरै रहेको छ । हरेकदिन यस पर्वतको उचाइ घट्दै जाने जनविश्वास रहेको छ । हिन्दुधर्मावलम्बीका लागि यो स्थान अत्यन्तै महत्वपूर्ण मानिन्छ ।

द्वापर युगमा भगवान कृष्णको सल्लाहअनुसार गोकुलवासी सामूहिक रूपमा इन्द्रको सट्टा गोवर्धन पर्वतको पूजा गर्छन् । तर, आफ्नो सट्टा गोवर्धन पर्वतलाई पूजा गरेकोप्रति रुष्ट हुँदै इन्द्रले गोकुलमा घनघोर असिना र पानीको वृष्टी गराउँछन् ।

गाेकुलवासीको सुरक्षाको लागि भगवान कृष्णले भने गोवर्धन पर्वतलाई नै उचालेर छाता सहर बनाउँछन् र सबै गोकुलवासी तथा जीवहरुको रक्षा गर्दछन् । यो प्रसङ्ग श्रीमद्भागवतको दशमस्कन्धका साथै अन्य पुराणहरुमा समेत उल्लेख भएको पाइन्छ ।
त्यसै समयदेखि गोवर्द्धन पूजाको आरम्भ भएको विश्वास पनि गरिन्छ ।

गोवर्धन पूजाको दिन गाईको गोबरको गोवर्द्धन पर्वत बनाएर त्यसको पूजा गरिन्छ । यसदिन अन्नकूट उत्सवसमेत मनाइन्छ । यसै पर्वतलाई साँझमा चैरासी व्यञ्जन तयार गरी भोग लगाइन्छ र त्यसैलाई प्रसादको रूपमा ग्रहण गरिन्छ ।

साथै गोधनको रूपमा रहेका गाई, गोरुको पनि पूजा गरिन्छ । यसदिन गाई, गोरुलाई स्नान गराइ दाम्लो फेरेर मिठा परिकारहरू खान दिएर पूजा गरिन्छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार ११:५०