शेरबहादुर तामाङको अाँखामा छचल्किएको इमान्दारिताको अाँशु
–दुर्गा पुडासैनी
८ साउन, काठमाडाैँ । कानुनमन्त्री शेरबहादुर तामाङ इमान्दार नेताको सूचीमा अग्रपंक्तिमा रहेको नाम हो । तर एउटा स्कुलको कार्यक्रममा बोलेको विषय अतिरञ्जित भएर प्रसारित हुँदा सामाजिक रूपमा अालोचना भएर उनी नैतिकताको धरातलमा उभिएर राजिनामा दिन तयार भए ।
तामाङ धेरै बोलेर विवादित हुने प्रवृतिका व्यक्ति पनि हैनन् तर संयोवस एक जना मेडिकल शिक्षामा व्यवसाय गर्न नपाएर छट्पटाइ रहेका पूर्व माअोवादी दुर्गा प्रसाइले सोही विषयमा बोलेको विवादको भुंग्रोमा पर्न पुगे । जेहोस शेरबहादुरले जुन उच्च नैतिकता देखाए नेकपाका शायदै नेताले त्यस्तो नैतिकता प्रदर्शन गर्न सक्छन ।
उनले मन्त्री भएपछि न्यायलयको भ्रष्टाचार नियन्त्रणमा जुन खालकाे पहलकदमी लिन खोजेका थिए त्यसमा नेकपाका नेता सुवास नेम्वाङदेखि महान्याधिवक्ता अग्नि खरेलसम्म रूष्ट थिए । विवादमै परेर राजिनामा दिने अवस्था अाउँथ्यो भने सबैभन्दा पहिला रघुवीर महासेठ र दोस्रोमा रविन्द्र अधिकारीको राजिनामा अाउनुपर्थ्यो तर शेरबहादुरले केही कमजाेरी महशुष गरेर माफी माग्दा परिणाम भयानक बन्न पुग्यो र यही बीचमा उनलार्इ पार्टीले सहज रूपमा मन्त्री छाड्न गएको मध्यराति १२ बजे निर्देशन दियो र उनले इमान्दिरी पूर्वक राजिनामा दिए ।
मन्त्रालयमै पत्रकार सम्मेलन गरेर राजिनामाको घोषणा गरेका तामाङले अाफ्नो निर्दोषिताको अाँशु थाम्न सकेनन् र अहिले सामाजिक सञ्जलमा यही विषयमा धेरैले टिप्पणी गरिरहेका छन । शेरबहादुर राजिनामा बंगालादेशमा एमबिबिएस पढ्ने नेपाली विद्यार्थीमाथिको न्याय निश्चित होइन अब यस विषयमा सरकारले निष्पक्ष रूपमा छानविन गरेर सत्य बाहिर ल्याउनुपर्छ ।
शेरबहादुर नारी बिरोधी र नारीको अस्मितासँग खेलवाड गर्ने नेता किन पनि हैनन् भने कुनै बेला सिन्धुपाल्चोक चेलिबेटी बेचविखनमा चर्चा र संख्याको हिसाबमा एक नम्बरमा रहेको थियो त्यसलार्इ न्यूनिकरण र नियन्त्रणका लागि उनले खेलेको भूमिका यतिखेर स्मरणिय बनेको छ ।
उनले बोलेको भिडियो हेर्नुहोस
सामाजिक सञ्जालमा शेरबहादुर तमाङका विषयमा अाएका केही प्रतिक्रिया हामीले यहाँ प्रस्तुत गरेका छाैँ । ट्वीटरमा निरज खड्का लेख्छन, सिन्धुपाल्चोकमा हुने चेलिवेटि वेचविखनविरुद्द शेर बहादुर तामाङले लडेकाे लडाई सायद अहिले कसैलाइ नि याद/ज्ञान रहेनछ । गल्तिप्रति क्षमायाचना गरे र नैतिकता देखाउदै राजिनामा दिए। त्यत्तिकै नैतिकता अाफुमा छ कि छैन अात्ममुल्याकंन गराैं ।
सिन्धुपाल्चोकमा हुने चेलिवेटि वेचविखनविरुद्द शेर बहादुर तामाङले लडेकाे लडाई सायद अहिले कसैलाइ नि याद/ज्ञान रहेनछ । गल्तिप्रति क्षमायाचना गरे र नैतिकता देखाउदै राजिनामा दिए। त्यत्तिकै नैतिकता अाफुमा छ कि छैन अात्ममुल्याकंन गराैं ।
— Niraz Khadka (@nerazktm) July 24, 2018
त्यस्तै पत्रकार मात्रिका पाैडेलले फेसबुकमा लेखेका छन, शेरवहादुर तामाङ आचरणको हिसाबले स्वच्छ,प्रवृतिका हिसाबले सबैसँग मिलनसार,व्यक्तित्वका हिसाबले बैचारिक अध्ययनशील, जनमतका हिसाबले सधैं लोकप्रिय र समुदायका हिसाबले सबैभन्दा पछाडि पारिएको तामाङ परिवारबाट संघर्ष गरेर कम्युनिस्ट राजनीतिमा स्थापित भएका नेता हुन् ।
शेरवहादुर पत्नी उषाकला राई स्वयं नेपाली महिला अधिकार आन्दोलनकी अगुवा तथा प्रदेशसभा सांसद तथा संविधानसभा सदस्य भइसकेकी चर्चित नेता हुन् । जुन अभिव्यक्तिका कारण शेरवहादुरलाई राजीनामा दिन बाध्य पारियो,त्यो पाटोमा भोलि धेरै खुलासा हुँदै जालान्, तर उनका अगाडि मैदान खाली छ ।
समय सधैं भीडको नियन्त्रणमा चल्दैन,उनले भ्रष्टाचार वा कुनै अपराध गरेर राजिनामा दिएका होइनन्,त्यसैले राम्रा मान्छेलाई समयले आफैं बोलाउँछ । मन्त्रीबाट राजीनामा दिएका हुन्, जनताले दिएको सांसद पद कसैले खोस्न सक्दैन,बरु बंगलादेशमा चिकित्साशास्त्र पढ्ने विद्यार्थीका समस्या र आत्महत्यासम्मका घटनाहरुको विस्तृत अध्ययन गरि यथार्थ बाहिर ल्याउने काममा शेरवहादुर र उषाकला राईले बिधायकी भूमिका निर्वाह गर्ने अवसर आएको छ ।
त्यस्तै प्रेस चाैतारीका महासचिव राजेश रार्इले अाफ्नो फेसबुक पेजमा यस्तो लेखेका छन । शेरबहादुर तामाङ भ्रष्टचार, अपराध अथवा गम्भिर कुनै त्यस्तो गल्तीका कारण मन्त्रीबाट हटेका होइनन् । म उनलाई चिन्छु, उनी असाध्यै नैतिकवान्, इमानदार, अध्ययनशील र सरल नेता हुन् । उनले महिलाहरुमाथि गलत नियत राखेर उनी बोलका होइनन् । अलि मन छुने गरी महिलाहरुकै पक्षमा बोल्छु भन्दा उनी नराम्ररी चिप्लिए ।
शेरबहादुर तामाङको बिरोध गरीरहेका दिदिबहिनीहरुलाई मेरो अनुरोध छ, ‘त्यो भिडियो अझैं सुन्नुहोस्, नेपाली विद्यार्थी र महिलाहरुको पक्षमै बोल्न खोज्दा गलत अर्थ गएको मात्रै हो ।’ त्यो कमजोरीलाई स्वीकार गरेर उनले हिजो नै विज्ञप्ती मार्फत माफी मागेका थिए । पार्टी बाहिर र भित्रबाट नै दबाब बढेपछि उनले आज राजीनामा दिए ।
यो बेला पार्टी बाहिर नारा जुलुस हुनु स्वभाविक हो । तर, पार्टी भित्र त्यति सारो खै के आई लाग्यो ? समय त्यस्तै छ, भनौं पनि गाह्रो, नभनौं पनि मनलाई सारो । यति भन्छु, त्यो समयले बताउँदै जाला । राजनीतिमा नैतिक खडेरी भइरहेको बेला उनको राजीनामा सबैको लागि सिकाई र चुनौती हो । कमरेड ! शेरबहादुर तपाई बिचलित नहुनुहोस् । घाउहरु समयले पुर्छ । पर्दाहरु समयले नै खोल्छ । आफ्नो नेतालाई जनताले चिनेका छन् । हजार पटक दोराएर हेरे पनि बाहिर भिडले भने जस्तो दाग न हिजो थियो, न आज ।
प्रकाशित मिति : ८ श्रावण २०७५, मंगलवार १७:५६