१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

अष्ट्रेलियामा भएकाे रचनात्मक कलाकृति प्रतियोगितामा नेपाली विद्यार्थी सुहानी राजभण्डारी प्रथम

१० कात्तिक, एडिलेड । एडिलेड नेपाली विद्यालयकी छात्रा सुहानी राजभण्डारीले बिभिन्न भाषीका विद्यालयहरुको संस्था एथनिकल स्कुल एसोसियसन अफ साउथ अष्ट्रेलियाद्वारा आयोजित रचनात्मक कलाकृति प्रतियोगितामा प्रथम भएकी छिन ।

बहुसास्कृतिक मुलुक अष्ट्रेलियाको सरकारले विभिन्न भाषा विकास र संरक्षणका लागि अनौपचारिक भाषा विद्यालयहरुलाई सहयोग र संवर्धन गर्दै आएको छ । यसै क्रममा साउथ अष्ट्रेलियामा जारी बाल सप्ताह अन्तरगत रचनात्मक कलाकृति समुहमा नेपाली विद्यालयकी सुहानी प्रथम भएकी थिइन भने सिहाली बौद्घ विद्यालयका बिद्यार्थी आरोन गायस अबेनायके दोस्रो भएका छन् ।

प्रतियोगिता आयोजक एशोसियसनका अनुसार आगामी नोभेम्वर महिनामा हुने एक कार्यक्रममा साउथ अष्ट्रेलिया सरकारका शिक्षा मन्त्री जोन गार्डनरले पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको जनाएको छ । सन् १९८५ मा स्थापित एसोसियसन अन्तर्गत विभिन्न ४५ भाषा भाषीका अध्यापन गराउने ९५ वटा विद्यालयहरु रहेका छन् ।

सुहानिले नेपाली भाषा सिक्नुको महत्व दर्साउदै नेपालमा रहेका आफ्ना हजुर वा हजुर आमासंग कुरा गर्न आवश्यक रहेको वताउदै चित्रबाट यसको प्रस्तुति गरेकी थिइन । दैनिकी संग कुरा गर्दै एडिलेड नेपाली विद्यालयकी प्रिन्सिपल लक्ष्मी सापकोटाले आफ्नो विद्यार्थी मिहेनत सफल भएर पुरस्कृत भएकोमा खुशी व्यक्त गर्नु भयो ।

उहाले यसले विद्यार्थीहरुमा मातृ भाषाको माया बढाउनुका साथै अष्ट्रेलियामा रहेका अन्य समुदाय भाषा भाषीका विचमा नेपाल र नेपालीलाई परिचित गराउने काम समेत भएको बताउनु भयो । यसै गरि विजयी छात्रा सुहानीले चित्र बनाउन प्रेरित गर्नु हुने आफ्ना विद्यालयकी प्रिन्सिपल प्रति धन्यवाद व्यक्त गर्दै नेपाली विद्यालयको विद्यार्थी हुनु पाएकोमा गौरवान्वित महशुस गरेको वताइन |

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार १६:४०