५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

केपी ओलीको फेरि प्रधानमन्त्री बन्ने योग…


८ कात्तिक, झापा । आइतबार भद्रपुर विमानस्थल हुँदै गृहजिल्ला झापा आइपुगेका नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सीधैँ पिता मोहनप्रसाद ओलीको घर पुगे । जहाँ ९३ वर्षीय पिताका साथै भाइ जयप्रकाश र बुहारीको परिवार बस्छ ।

अध्यक्ष ओली जहिल्यै झापा आउँदा पिता भेट्न भद्रपुर-१ स्थित पृथ्वीनगरको घरमा पुग्छन् । २०५४ सालपछि बनेको दुई तले घरमा ओली आउँदा छरछिमेकदेखि नेता कार्यकर्ताको चहलपहल हुन्छ ।

यसपालि त्यस्तै चहलपहल थियो । घरमा बुढा बा भएकाले उनका समकालीन एवं संगतमा रहेका वृद्ध पनि ओली आउने भनेपछि भेला भएका थिए । भद्रपुर विमानस्थलबाट घर पुगेपछि ओलीले झण्डै पौने घण्टा बुवा तथा छरछिमेकसँग भेटघाटमा बिताए ।

ओलीले परिवारका सदस्यदेखि छिमेकी र नेता कार्यकर्तासँग हालखबर सोध्नेदेखि फोटो खिचाउनेसम्म सहज रुपमा गरे । एकातिर ओली थिए भने अर्कोतिर उनका पिता मोहन बसेर भलाकुसारी गरे । ओलीलाई भेटेका छरछिमेकको भनाइमा ओलीले सञ्चोबिसञ्चो हाल खबर सोधेका थिए । उपस्थित स्थानीयका गुनासा पनि सुनेका थिए ।

वृद्ध छिमेकी कर्णबहादुर कार्कीले ओलीले सञ्चो/विसञ्चो सोधेको बताए । छिमेकी मन्दिरा कोइरालाले पनि ओली जहिल्यै आउँदा भेट हुने गरेको र गाउँलेका गुनासो सुन्ने गरेको बताइन् ।

पिता मोहनप्रसादले केपीले राम्रै छ भनेर सोधेको बताए । आफ्नो छोरासँग बेलाबेला कुरा हुने गरेको र काठमाडौं बोलाउने गरेको बताए । ‘तर म काठमाडौ जान्न । उता घुम्न पाइन्न । घरभित्रै थुनिनुपर्छ । यहाँ घुम्न पाइन्छ । ओखती उपचारमा सहयोग गर्नुपर्छ । छोरासँग बेलाबेला फोनमा कुरा हुन्छ । काठमाडौं बोलाउँछ । तर मलाई यतै ठिक लाग्छ । यता एक्लै डुल्न पाइन्छ । उता निस्किन पनि पाइँदैन,’ उनले सुनाए ।

मोहनले केपी ओली फेरि प्रधानमन्त्री बन्ने योग रहेको पनि बताए । ‘मेरो आशिर्वाद पनि छ । भएपछि अब ५ वर्षलाई हुन्छ । फागुनपछि हुने योग छ । एमाले पहिलो पार्टी हुन्छ । एकदम राम्रो योग छ । सफल होस्, मेरो शुभकामना छ,’ उनले भने ।

मोहनले छोरा फेरि प्रधानमन्त्री हुने बताइरहँदा घरभित्रबाट निस्किएका अध्यक्ष ओलीले ‘बुवा म जान्छु है’ भनेर नमस्ते ढोग गरेर विदा भए । मोहनले राम्ररी गएस् भनेर आशिर्वाद दिए ।

जब कुमारीले मास्क खोल्न लगाइन् 

पितासँग विदा मागेर जब ओली निस्किँदै थिए, त्यतिकैमा स्थानीय छिमेकी कुमारी लिम्बू भेट्न आइन् । उनले मास्क खोल्न लगाइन हेर्नलाई । सधै फोटोमा मात्रै देखेको भन्दै आग्रह गरेपछि ओलीले मास्कमात्र खोलेनन् । नजिकै बोलाएर तस्बिर पनि खिचाए । सँगै कलाकार विल्सन विक्रम राईले पनि तस्बिर खिचाए । कुमारीका छोरालाई पनि ओलीले बोलाएर तस्बिर खिचे । के कसो भनेर हालखबर सोधे । अनि ओली पिताको घरबाट बिर्तामोडतिर लागे ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार ०८:०३