१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ३० पुग्यो, स्वास्थ्यकर्मीसहित चार जना अझै वेपत्ता

६ कात्तिक , पाँचथर । पाँचथरमा बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ३० पुगेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार बाढी र पहिरोमा परी वेपत्ता रहेका थप दुई जनाको शव आज फेला परेसँगै मृतकको संख्या ३० पुगेको हो ।

१-३ कात्तिकसम्म निरन्तर भएको वर्षाका कारण बाढी र पहिरोको प्रकोप हुँदा जिल्लाका चार स्थानीय तहमा सो संख्यामा स्थानीयवासीको ज्यान गएको हो । बाढीले बगाएर वेपत्ता फिदिम नगरपालिका–६ की २२ वर्षीया सम्पदा आले मगर र पहिरोले पुरिएर वेपत्ता फाल्गुनन्द गाउँपालिका–४ चिलिङदिनका आठ वर्षीय बालक मिक्तोक चेम्जोङको शव आज फेला परेको प्रहरीले जनाएको छ । बाढी र पहिरोमा परी मृत्यु भएका २८ जनाको यसअघि नै पहिचान भइसकेको छ । जसमध्ये २१ जना मिक्लाजुङ गाउँपालिकाका छन् ।

पाँचथरमा अझै फिदिमका एक र मिक्लाजुङका तीन गरी चार जना बाढी र पहिरोमा परी वेपत्ता छन् । वेपत्ता हुनेमा दुई जना स्वास्थ्यकर्मीसमेत छन् । इलामको माङसेबुङ गाउँपालिकामा कार्यररत उनीहरु पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पहिरोमा परी घाइते भएका स्थानीयवासीको उपचारमा आएका थिए । तर पहिरो झरेपछि भाग्ने क्रममा वेपत्ता भएका उनीहरु अझैसम्म फेला पर्न नसकेको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले जानकारी दिए ।

बाढी र पहिरोमा परी वेपत्ताको खोजी कार्य तीब्र पार्न तथा क्षतिको विवरण संकलन गर्न जिल्ला विपत ब्यवस्थापन समितिले सुरक्षा निकाय र स्थानीय तहलाई परिपत्र गरिसकेको छ । सुरक्षा निकायले स्थानीयवासीसमेतको सहयोगमा खोजी कार्य गर्दै आएको तथा स्थानीय तहबाट क्षतिको विवरण संकलन थालिएको समितिले जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार १९:३३