१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

बाँकेमा एक महिनामा १४ वटा सवारी दुर्घटना : ७ जनाकाे मृत्यु, ३ जना घाइते

३१ असोज , नेपालगञ्ज । बाँकेमा पछिल्लो एक महिनामा भएका १४ वटा सवारी दुर्घटनामा परेर ७ जनाले ज्यान गुमाएका छन भने ३ जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक कार्यालय बाँकेले दिएको जानकारीअनुसार सबैभन्दा बढी सवारी दुर्घटनामा परेर पूर्वपश्चिम राजमार्गको कोहलपुर–शिवखोला सडक खण्डमा तीनजनाले ज्यान गुमाएका छन् ।

यसैगरी नेपालगञ्ज–गुलरिया सडक खण्डको धनौली क्षेत्रमा दुईजनाले, राझा नजिकै एकजना र राझाको गाउँभित्र एकजनाले सवारी दुर्घटनामा परेर ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए ।

उनले एक महिनाको अवधीमा ट्राफिक नियम विपरित सडकमा गुडेका २ हजार ८ सय ५० सवारी साधनलाई कारबाही गरी १५ लाख ८० हजार राजस्व समेत संकलन गरिएको बताए ।

उनले असोज महिनामा मापसे कारवाहीमा ५ जना परेको जानकारी दिँदै उनीहरूबाट ५ हजार राजस्व संकलन गरिएको बताए ।

यसै अवधिमा सिट क्षमता भन्दा बढी यात्रु राख्ने १७ वटा सवारी साधनलाई कारबाही गरि १७ हजार राजस्व संकलन गरिएको छ । उनले कोहलपुर र नेपालगञ्ज बजार क्षेत्रमा प्रेसेर हर्नको प्रयोग गर्ने सवारी सवारी साधनहरूलाई कारबाही गरिएको बताउँदै प्रेसर हर्न राखिएका १०३ वटा सवारी साधनबाट हटाइएको र ४२ वटालाई कारबाही गरिएको बताए ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आईतवार १८:४३