१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

चाइनीज रेल्वे इन्जिनियरिङ-२ मा कार्यरत मजदुरको चाँडपर्वमा विदा नपाएको गुनासो

२६ असोज , सप्तरी । कञ्चनपुर–कमला खडक परियोजनाको ठेक्का पाएको चाइना रेल्वे इन्जिनियरिङ्ग २ ले आफूहरुको श्रमशोषण गरेको मजदुरहरूले आरोप लगाएका छन् । दैनिक ८ घण्टा खटाएर नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक ज्यालासम्म पनि नदिएको उनीहरुको गुनासो छ ।

बिचौलियाको चलखेलका कारण सडक परियोजनाले मजदुरलाई दैनिक ५५०, फोरम्यान, इन्जिनियर, सुपरभाइजरलाई दैनिक ८३३ रुपैयाँ उपलब्ध गराउने गरेको एक मजदुरले बताए । दिनभरी ८ घण्टा काममा खटाएर ज्याला भने ५५० रुपैयाँमात्र दिने गरेको मजदुरको भनाइ छ ।

 

अर्का मजदुरले भने, ´गाउँकै सुपरभाइजरले कम्पनीको काम हो, राम्रो हुन्छ भनेको थियो । शुरुमा दैनिक ४५० ज्याला दिएको थियो,’ उनले थपे, ‘नौ महिनापछि एक सय थप गरि ५५० पुर्‍यायो ।’ ज्याला बढाउनभन्दा कामबाट निकाल्ने धम्की दिने गरेको उनको दुखेसो छ ।

बिचोलियाहरुको चलखेलले न्यूनतम ज्यालामा पनि घटाएको मजदुरको आरोप छ । ‘हामी दिनभरी सडकमा खट्नुपर्छ,’ एक इन्जिनियरले भने, ‘दैनिक ८३३ रुपैयाँ दिँदै आएको छ । योजनाका प्रमुखलाई चाप्लुसी गर्ने दर्जनौंले कामै नगरी घरमा बसेर हामीसरह तलब बुझ्छन् । काममा नआउनेको मासिक तलब हुन्छ । तर खट्नेलाई दैनिक ज्यालादारीमा खटाउने गरेको र काममा आएको दिनकोमात्र ज्याला दिने गरेको एक सुपरभाइजरले सुनाए । काम गरे ज्याला दिन्छौं नगरे पाउँदैन भन्दै चाडपर्वमासमेत विदा नदिने गरेको मजदुरहरुले गुनासो गरे ।

रोजगारीको अभाव तथा तलब बढ्ने प्रलोभन देखाएकाले न्यूनतम ज्यालामा खट्न बाध्य भएको मजदूरहरुको भनाइ छ । चाइनिज रेल्वे इन्जिनियरिङ्ग २ मा विभिन्न क्षेत्रमा गरि दुई हजार भन्दा मजदूरहरु कार्यरत रहेका छन् । ठेकेदार कम्पनीले भने मजदुरलाई न्यूनतम ज्याला नै दिएको दाबी गरेको छ ।

 

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलवार १६:५५