१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

एक वर्षमा साढे ३१ हजार सवारी कारबाहीमा, झण्डै २ करोड राजश्व

–मोहन बेल्वासे
६ साउन, कपिलवस्तु । कपिलवस्तुमा यसवर्ष ३१ हजार ४सय ९९ सवारी कारबाहीमा परेका छन् । ट्राफिक नियम उलंघन गरेका ती सवारी साधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले कारवाही गरेको हो ।

जिल्ला ट्राफिकले आर्थिक वर्ष २०७४।०७५ मा सवारी कारबाहीबाट १ करोड, ८४ लाख ५२ हजार ५सय रुपैयाँ राजश्व संकलन गरेको ट्राफिक प्रहरी निरीक्षक बाबुराजा पन्तले जानकारी दिनुभयो । गत आर्थिक वर्ष२०७३।०७४ मा कूल २६ हजार ५सय १३ सवारी कारबाहीमा परेका थिए । त्यसको दाँजोमा यसवर्ष ४हजार ९सय ८६ बढी सवारी कारबाहीमा परेका छन् – प्रहरी निरीक्षक पन्तले भन्नुभयो । जसबाट २८ लाख ७ हजार रुपैयाँ बढी राजश्व असुली भएको छ ।

सवारी कारबाहीमा यसवर्ष सबैभन्दा बढी ट्रक परेका छन् । ट्रक मात्र २१ हजार १सय ४४ वटा कारबाहीमा परेका छन् । भने दोस्रोमा मोटरसाइकल ४हजार ४सय ७४ वटा कारबाहीमा परे । यसैगरीे कारबाहीमा परेका बसको संख्या १हजार २सय ७३, जीप÷कारको संख्या १हजार ९सय १९ र ट्रेक्टरको संख्या २हजार ६सय ८६ रहेको ट्राफिकले जनाएको छ । ट्राफिक नियम उलङ्घन गरेका, ओभरलोड र मापदण्ड विपरीत कार्य गरेका सवारीलाई कारवाही गरिएको प्रहरी निरीक्षक पन्तले बताउनुभयो ।

?

यता आर्थिक वर्ष २०७४।०७५ मा मादक पदार्थ सेवन गरी सवारी चलाउने ३६ जना कारबाहीमा परेका छन् । जसबाट ट्राफिकले ३६ हजार राजश्व असुली भएको ट्राफिकले जानकारी दिएको छ । गतवर्ष भने ३१ जनालाई मापसे कारबाही हुँदा ट्राफिकले ३१ हजार रकम असुली गरेको थियो ।

सय बढी सडक दुर्घटनामा ६५ को मृत्यु ११६ घाइते
कपिलवस्तुमा आर्थिक वर्ष २०७४।०७५ मा १सय २३ सडक दुर्घटना भएको छ । जसमा ६५ जनाले ज्यान गुमाएका छन् । भने ११६ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक बाबुराजा पन्तले जानकारी दिनुभएको छ ।

एक वर्षमा १२३ सडक दुर्घटना हुँदा १८० वटा सवारीका क्षति भएको छ । सडक दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल परेका छन् । मोटरसाइकल दुर्घटना मात्र ७४ वटा रहेको ट्राफिक प्रहरीले जनाएको छ । यसैगरी सवारी दुर्घटनामा १८ वटा ट्रक, १४ वटा बस, २० वटा जीप÷कार, २२ वटा ट्रेक्टर परेका छन् । त्यसैगरी ट्याम्पो २, साइकल संख्या २५ र अन्य सवारी ५ वटा रहेको ट्राफिक प्रहरी निरीक्षक पन्तले बताउनुभयो ।

प्रकाशित मिति : ६ श्रावण २०७५, आईतवार १९:००