१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

महानिरीक्षक खनालको विशेष पहलमा एसएसबीले सशस्त्रलाई दियो १२ हजार कोभिडसिल्ड

२५ असोज, काठमाडाैँ । भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी)ले नेपालको सशस्त्र प्रहरीका लागि १२ हजार डोज कोभिडसिल्ड दिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको विशेष पहलमा एसएसबीले १२ हजार डोज खोप दिएको हो ।

पाँचौं नेपाल भारत समन्वयात्मक बैठकमा सहभागी हुन दिल्ली पुगेको समयमा महानिरीक्षक खनालले कोभिडसिल्डका लागि पहल गरेका थिए । सो बैठकको बीचमा भारतीय सशस्त्र सीमा सुरक्षा बलका महानिर्देशक कुमार राजेशचन्द्राले सशस्त्र प्रहरी महानिरीक्षक खनाललाई कोभिडसिल्डको नमुना हस्तान्तरण गरेको बैठकमा सहभागी सशस्त्र प्रहरीका निरीक्षक नारायण गुरूङले जानकारी दिए ।

काेरोना नियन्त्रणमा प्रभावकारी मानिएको खोप सबै नागरिकले नपाइसकेको अवस्थामा भारतको तर्फबाट एसएसबीले सशस्त्र प्रहरीका लागि छुट्टै १२ हजार डोज खोप दिएको हो । यसले सशस्त्र प्रहरीले थोरै भए पनि लाभ प्राप्त गर्नेछ ।

नेपाल भारत समन्वयात्मक बैठकमा सीमामा अनाधिकृत ब्यक्तिहरुको आवागनम रोक्न दुबै देशका प्रतिनिधि सहमत भएका छन ।  उनीहरुले अनुमति नलिएका तेस्रो देशका नागरिक नेपाल प्रवेश गर्न र भारत जानबाट रोक्न आफ्ना सीमा पोस्टहरुलाई अझै सशक्त र सुविधा सम्पन्न बनाउने बिषयमा सहमति गरेका छन।

नेपालका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र सशस्त्र सीमा बलका तर्फबाट महानिर्देशक कुमार राजेशचन्द्राले नेतृत्व गरेको बैठकमा दुबै देशका गृह, परराष्ट्र र गुप्तचर निकायका अधिकारीको सहभागिता रहेको थियो । बैठकमा अन्दरदेशीय अपराधको रोकथा तथा नियन्त्रणका लागि दुई सुरक्षा निकायबीचमा सूचना आदानप्रदानलाई निरन्तरता दिने समेत सहमति भएको छ । गत वर्ष पोखरामा उक्त बैठक भएको थियो ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार ११:१३