२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

गौरादह नगरपालिकाले फोहोर व्यवस्थापनमा काम नगरेपछि पीडित बने नागरिक

२३ असोज, झापा । पछिल्लो समय झापाका धेरै स्थानीय तह फोहोर व्यवस्थापनमा चुकेका छन् । झापाको बिर्तामोड नगरपालिकामा पटक-पटक फोहोर व्यवस्थापनको कारणले विवाद आइरहन्छ ।

यस्तै, गौरादह नगरपालिका पनि फोहोर व्यवस्थापनमा चुकेको छ । गौरादह नगरपालिकाले नागरिकको स्वास्थ्यमा गम्भीर असर गर्ने गरी वडा नम्बर १ को वडाकार्यालय परिसरमा फोहोर फालेको छ ।

जहाँ दैनिक सयौं मानिस आवतजावत गर्ने गरेका छन् । इलाका हुलाक कार्यालय गौरादहका कर्मचारीले नाक थुन्दै फोहोर टेकेर कार्यालय जानुपर्ने अवस्था छ । १ असोज २०७१ मा नगरपालिका घोषणा भएको गौरादह स्थापनाको सात वर्षमा पनि फोहोर व्यवस्थापन गर्न सकेको छैन ।

अधिकार सम्पन्न स्थानीय सरकार गठन भएको चार वर्ष बितिसक्दासमेत गौरादह नगरपालिकाले वडाकार्यालय परिसरमै फोहोर फाल्ने गरेको हो ।

गौरादह बजार क्षेत्रमा रहेको वडाकार्यालयमा फोहोर फाल्दा बाहिरसम्म दुर्गन्ध फैलने गरेको स्थानीय रमेश बरालले बताए । ‘वडाकार्यालयको कम्पाउन्डभित्रै फोहोर फालिएको छ । हुलका त जान सकिँदैन ।

फोहोर छेउमा रहेको शौचालयमा जान पनि गन्हाउने फोहोर टेकेर जानुपर्छ,’ उनले भने, ‘बाहिरसम्म फोहोर गन्हाएर बस्नै नसकिने हुन्छ । हुलाकका कर्मचारी कसरी बसेका होलान् ।’ जनप्रतिनिधि दिनैपिच्छे वडाकार्यालय पुग्दा फोहोरको डंगुर देख्छन् । तैपनि व्यवस्थापनतर्फ ध्यान नदिएको बरालले बताए ।

गौरादह नगरपालिकाबाट दैनिक दुई ट्याक्टरसम्म फोहोर निस्कने गरेको नगरपालिकाले जनाएको छ । फोहोर व्यवस्थापनका लागि नगरपालिकाले प्रत्येक वर्ष बजेट छुट्याउँदै आएको छ । तर, हालसम्म व्यवस्थापनको कुनै प्रभावकारी काम गर्न सकेको छैन । फोहोरमैला व्यवस्थापन ऐनले स्थानीय तहलाई फोहोर व्यवस्थापनको जिम्मा दिएको छ ।

फोहोरमैला व्यवस्थापन गर्दा जनस्वास्थ्यमा प्रतिकूल असर नगर्ने गरी स्थानीय तहले आफैं पूर्वाधार बनाउनुपर्ने ऐनमा उल्लेख छ । तर, गौरादह नगरपालिकाले भने दैनिक भिडभाड हुने वडाकार्यालय परिसरमा फोहोर फाल्ने गरेको छ ।

गौरादह नगरपालिकाकी उपप्रमुख गीता भेट्वालले बाध्यताले वडाकार्यालय परिसरमा फोहोर फाल्नुपरेको बताइन् । विकल्प नभएर वडाकार्यालय परिसरमा फोहोर फाल्नुपरेको उनको भनाइ छ । उनले गौरादह नगरपालिकाले फोहोर व्यवस्थापनको प्रक्रियाअघि बढाएको बताइन् । ‘हामीले फोहोर व्यवस्थापन गर्नका लागि हामी तयारी थालिसकेका छौं । किस्नी खोलामा डम्पिङ साइड पनि बनाएका छौं,’ उनले भनिन्, ‘अब दशैँलगत्तै सञ्चालनमा ल्याउने तयारी छ ।’

डम्पिङ साइड निर्माण काम सकिए पनि त्यहाँसम्म पुग्ने सडक निर्माणको काम रोकिएका कारण तत्काल सञ्चालन हुन नसकेको उनले बताइन् । ‘बर्खामा पानी जमेर सडक बनाउन सकेनौँ । अब दशैँलगत्तै सडक पनि बनाउँछौं,’ उनले भनिन्, ‘फोहोर व्यवस्थापनका लागि नगरपालिकाले ट्याक्टर पनि व्यवस्थापन गरेको छ । अब सडक मात्र बाँकी रह्यो । बाँकी सबै काम सकेका छौं ।’

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार २१:४६