१८ असार २०८१, मंगलवार | Wed Jul 3 2024

बर्षा हुँदा पोखरालाई अंक, प्लेअफको लागि काठमाडौंलाई अर्काे खेल कुर्नपर्ने


१८ असोज, काठमाडौँ । पोखरा राइनोजले एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि–ट्वान्टी क्रिकेटमा काठमाडौं किग्स–११ लाई १४ रनले पराजित गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा वर्षाले खेल प्रभावित भएपछि पोखराले ‘डि एल मेथर्ड’को आधारमा काठमाडौंलाई १४ रनले पराजित गरेको हो ।

१८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको पोखराले १५ ओभरमा ५ विकेट गुमाएर १४२ रन बनाउँदा भारी पानी परेको थियो । त्यसपछि खेलको छिनोफानो ‘डि एल मेथर्ड’को आधारमा भएको थियो ।

पोखराको लागि सहन अराच्चीगेले सर्वाधिक ४३ रन बनाउँदा विवेक यादवले अविजित ४१ रन बनाए । यस्तै लोकेश बलमे १८ तथा रिचार्ड लेभीले १७ रन बनाए । काठमाडौँ लागि जितेन्द्र मुखिया र गुल्शन झाले समान२ विकेट लिए । कप्तान सन्दीप लामिछानेले १ विकेट लिएका थिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८२ रन बनाएको थियो । काठमाडौंको सम्मानजनक योगफलमा अमित श्रेष्ठ र रायन बर्लले अर्धशतकीय इनिङस् खेले । अमितले सर्वाधिक ५६ रन बनाए । ४१ बल खेलेका अमितले ६ चौका र २ छक्का प्रहार गरे ।

यस्तै रायनले ५० रन बनाए । ४३ बल खेलको रायनले २ चौका र ३ छक्का हिर्काए । कप्तान सन्दीप लामिछानेले ३१ रन बनाए । यस्तै रहमानुल्लाह गुर्बाजले १२ रन बताए । टस जितेर बलिङ गर्ने निर्णय लिएको पोखराको लागि विवेक यादवले सर्वाधिक ३ विकेट लिए । यस्तै विक्रम सोब, नन्दन यादव, किशोर महतो र साहन अराच्चिगले समान १–१ विकेट लिए ।

आज नै भएको पहिलो खेलमा भैरहवाले चितवनलाई ६ विकेटले पराजित गर्‍यो । जारी ईपीएलमा चितवन पहिलो पटक पराजित भएको हो । यसका बाबजुद पनि चितवन यसअघि नै प्लेअफमा पुगिसकेको छ । यस्तै भैरहवा र पोखरा राईनोज पनि प्लेअफमा पुगिसकेका छन् । अब, प्लेअफमा पुग्न एक टोलीको टुंगो लाग्न बाँकी छ ।

काठमाडौले आजको खेल हारे पनि उसलाई अब अर्काे खेल जित्नै पर्ने दबाब छ । यदि काठमाडौं पराजित भए ललितपुर प्याट्रियट्स प्लेअफमा स्थान बनाउनेछ । जारी ईपीएलमा ५ खेल खेलेको चितवनको ८ अंक छ । समान ४ खेलबाट भैरहवाको ६ अंक रहँदा पोखरा राईनोजको ४ खेलबाट ५ अंकसहित तेस्रो स्थानमा छ ।

५ खेलबाट ३ अंक बनाएको ललितपुर चौथो स्थानमा रहँदा ४ खेल खेलेको काठमाडौं २ अंकसहित पाँचौँ तथा ५ खेल खेलको विराटनगर २ अंकसहित तालिकाको पुछारमा छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार १८:२०