१८ असार २०८१, मंगलवार | Wed Jul 3 2024

एभरेस्ट प्रिमियर लिगः चितवनको पहिलो हार, भैरहवाको दोस्रो जित


१८ असोज, काठमाडौँ । भैरहवा ग्लाडियटर्सले दोस्रो जित निकाल्दै जारी एभरेस्ट प्रिमियर लिग (इपीएल) टि–ट्वान्टी क्रिकेटमा दोस्रो स्थानमा रहँदै प्लेअफमा स्थान सुरक्षित गरेको छ । सोमबार त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको दिनको पहिलो खेलमा भैरहवाले शीर्ष स्थानको चितवन टाईगर्सलाई ६ विकेटले पराजित गरेको हो ।

१६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको भैरहवाले १७ ओभर ५ बलमा ४ विकेट गुमाउँदै १६५ रन बनाएको हो । भैरहवाको जितमा विकेट किपर तथा ओपनिङ ब्याटर प्रदीप ऐरीले सर्वाधिक ७२ रन बनाए । ४३ बल खेलका ऐरीले ८ चौका ३ छक्का प्रहार गरे । यस्तै, तमीम इक्वालले ४०, उपुल थरङ्गाले ३९ रन बनाए ।

यता, चितवनको लागि करिम जन्नतले सर्वाधिक २ विकेट लिए । यस्तै सागर ढकाल र भीम सार्कीले समान १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६४ रन बनायो ।

चितवनको लागि करिम जन्नतले सर्वाधिक ३५ रनको योगदान गरे । यस्तै, मोहम्मद सहजादले ३२, सिकुगे प्रसन्नाले २४, भीम सार्की १६, राजेश पुलामी १४ र दिलीप नाथले १३ रन बनाए । भैरहवाका अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए । यस्तै, कुशल मल्लले २ विकेट लिँदा कृष्ण कार्की, दुर्गेश गुप्ता र धम्मिका प्रसादले समान १–१ विकेट लिए ।

जारी ईपीएलमा चितवन पहिलो पटक पराजित भएको हो । यसका बाबजुद पनि चितवन यसअघि नै प्लेअफमा पुगिसकेको छ । यस्तै भैरहवा र पोखरा राईनोज पनि प्लेअफमा पुगिसकेका छन् । अब, प्लेअफमा पुग्न एक टोलीको टुंगो लाग्न बाँकी छ । काठमाडौंले बाँकी एक खेल जिते स्वतः प्लेअफ पुग्नेछ । यदि दुवै खेलमा काठमाडौं पराजित भए ललितपुर प्याट्रियट्स प्लेअफमा स्थान बनाउनेछ ।

जारी ईपीएलमा ५ खेल खेलेको चितवनको ८ अंक छ । समान ४ खेलबाट भैरहवाको ६ अंक रहँदा पोखरा राईनोजको ४ खेलबाट ५ अंकसहित तेस्रो स्थानमा छ । ५ खेलबाट ३ अंक बनाएको ललितपुर चौथो स्थानमा रहँदा ३ खेल खेलेको काठमाडौं २ अंकसहित पाँचौँ तथा ५ खेल खेलको विराटनगर २ अंकसहित तालिकाको पुछारमा छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार १३:३३