१८ असार २०८१, मंगलवार | Wed Jul 3 2024

श्रीलंकासँग तीन अंकको लागि खेल्छौँः कप्तान किरण चेम्जोङ


१७ असोज, काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बु (चेम्जोङ)ले श्रीलंकाविरुद्ध महत्वपूर्ण तीन अंकको लागि खेल्ने बताएका छन् । आइतबार प्रि म्याच पत्रकार सम्मेलनमा बोल्दै गोलरक्षक तथा कप्तान चेम्जोङले श्रीलंका बलियो टोली रहेको र आफूहरु तीन अंकको लागि खेल्ने बताए ।

‘विगत विगत भैसक्यो । हामी अर्काे खुड्किलोको लागि हामी खेल्दै छौं । हामी तीन अंकको लागि श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछौं,’ ३१ वर्षीय कप्तान किरणले साफ च्याम्पियनसिपको दोस्रो खेलअघि भने । नेपालले भोलि श्रीलंकाको सामना गर्दैछ । आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ ।

यसअघि नेपालले शुक्रबार साफ च्याम्पियनसिपको उद्घाटन खेलमा बलियो आयोजक माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गरेको थियो । नेपालको जितमा मनिष डांगीले निर्णायक गोल गरेका थिए ।

कप्तान चेम्जोङले श्रीलंका कठिन प्रतिद्वन्द्वी भए पनि आफ्नो सबैभन्दा राम्रो खेल दिने बताएका हुन् । उनले ९० मिनेट मेहनत गर्दै श्रीलंकालाई पराजित गर्न खेल्ने बताए । ‘यो हाम्रो लागि कठिन छ । तर हामी ९० मिनेट मैदानमा हाम्रो सबैभन्दा राम्रो दिनेछौं,’ नेपालका लागि सर्वाधिक क्याप जितेका कप्तान किरणले भने ।

यस्तै, किरणले नतिजाका लागि आफ्नो सहयात्री खेलाडी, प्रशिक्षकसँग विश्वास रहेकोसमेत बताए । नेपाल र श्रीलंकाबीच हालसम्म १७ खेल भएका छन् । जसमा नेपालले ३ खेल जितेको छ भने ८ खेल बराबर गर्दा ६ खेलमा हार ब्यहोरेको छ । यस्तै भोलि नै हुने पहिलो खेलमा भारत र बंगलादेश आमने–सामने हुनेछन् ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आईतवार १७:१९