११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

के हो वामपन्थ र दक्षिणपन्थ, किन प्रयोग गर्छन नेताहरू ?

१६ असोज, काठमाडाैँ । आज हाम्रो राजनीतिको चल्तिका शब्द हुन बामपन्थी र दक्षिणपन्थी । देशमा हाल बाम शक्तिको बाहुल्यता छ । बाम पार्टीहरूको मत अन्य पार्टीहरुको भन्दा झण्डै दुई तिहाइ छ । यस अर्थमा आज बामपन्थीहरु नेपाली राजनीतिको निर्णायक शक्ति हुन् । आज हामी बामपन्थ र दक्षिणपन्थका बारे थोरै चर्चा गर्न गैरहेका छौ । राजनीतिमा हामीले चर्चा गर्ने गरेको वामपन्थी र दक्षिणपन्थी शब्दहरु हाम्रो आफ्नै हुन् कि आयातित हुन् ?

फ्रान्सका राजा लुइस १६ औं को राज्यसभा सन् १७८९ मा निर्बाचित जनप्रतिनिधिहरुविच राजालाई कति अधिकार दिने ? भन्नेमा विवाद भयो । एक थरि जो परंपराबादी थिए ति राजालाई अधिक अधिकार दिनुपर्छ भन्दथे भने अर्का थरि नयाँ विचारका बाहक थिए, राजालाई सिमित अधिकार मात्र दिने भन्दथे ।

विवाद यति चर्को भयो कि उनिहरु प्रष्ट दुइ समुहमा बाँडिए । राजालाई धेरै अधिकार दिनु पर्छ भन्नेहरु (विकासबादीहरु) सभाहलमा राजाको दाहिनेतर्फ बसे भने राजालाइ थोरै अधिकार दिने भन्नेहरु (क्रन्तिकारीहरु) राजाको बायँ पट्टीको लहरमा बसे । यहिँ देखि शुरु भयो बामपन्थ र दक्षिण पन्थको इतिहास । यो प्रचलन विस्तारै फ्रान्स देखि युरोप भर फैलिँदै अमेरिका सम्म पुग्यो र विश्वभर फैलियो ।

अठारौं सताब्दीको अन्त तीर आइपुग्दा दक्षिणपन्थ र बामपन्थको अर्थमा व्यापकता आयो । व्यापक अर्थमा प्रजातन्त्रबादीहरुलाई दक्षिणपन्थी र माक्र्सबादी कम्युनिष्टहरुलाई बामपन्थी भनिन थाल्यो यद्यपि कम्युनिष्टको प्रतिनिधित्व नभएको अमेरिकी कंग्रेसमा समेत यो विभाजन देखियो । रुलिंग पार्टी अध्यक्षको दायाँँ लहरमा र अपोजिशन पार्टी अध्यक्षको वायाँ पट्टी बस्ने प्रथा बस्यो ।

बेलायतलाई प्रजातन्त्रको जननी मान्ने र राजनीतिक सभ्यतालाई पश्चिमको अभ्यास भनि मान्ने हामीहरू बामपन्थ र दक्षिण पन्थ युरोपदेखि शुरु भएको र विस्तारै पश्चिमबाट पूर्वतर्फ आएको भन्ने विश्वास गर्न अभ्यस्त छौँ । तर यथार्थ यस्तो होइन रहेछ । खासमा हामीलाइ यि दुइ शव्द हाम्रै उपनिशदकाल देखिका प्रचलित शब्द हुन् भन्ने ख्याल रहेनछ । उतिबेला यि दुइ शब्द के का निम्ति प्रयोग भएका थिए भन्ने बुझ्नु भन्दा अगाडी उपनिषद के हो भन्ने बुझ्नु जरुरी छ ।

उपनिषद हिन्दु धर्मको महत्वपूर्ण श्रुतिग्रन्थ हो । यो वैदिक बांमयको अभिन्न भाग हो । चारै बेदमा आधारित ज्ञानको मुल सरोवर मानिन्छ उपनिषद । व्याकरणका हिसावले उप र नि उपशर्गका साथ सद् धातुमा क्विप् प्रत्यय लागेर उपनिषद बनेको छ । यस प्रकार जो पाप, तापको नाश गर्दछ, सच्चा ज्ञान प्रदान गर्दछ र अज्ञान, अविध्याको शिथिल गर्दछ त्यो उपनिषद हो । उपनिषदको संख्या १०८ मानिएको छ ।

उपनिषदमा ऋषिहरुले तन्त्रका दुइ विभाग भनि व्याख्या गरेका छन् । बाममार्ग र दक्षिणमार्ग । बाममार्गका साधकहरु पन्चम म (पंचमकार) को उपयोग गरि सिद्धी र अन्ततः मोक्षको प्राप्त हुने विश्वास लिन्छन् । पाँच म अन्तर्गतः मद्य, मांस, मत्स्य, मुद्रा र मैथुन । यि पाँचको विधिवत उपयोग गरि साधना गरिन्छ ।

यहाँ उपरोक्त पाँच बस्तुः मद्य (मदिरा) मांस (मासु) मत्स्य (माछा) मुद्रा (सुख्खा खाना) र मैथुन (रती कृया) जस्ता सांसारिक र तामसी बस्तुहरु अपनाइन्छ र तिनैका साथमा साधना गरिन्छ । त्यस्तै दक्षिणमार्गका साधकहरु सात्विक भोजन, न्यास, ध्यान, योग, भजन कीर्तन, ज्ञान र भक्ति आदिमा विश्वास गर्दछन् । तसर्थ दक्षिणमार्गका साधकहरु बाममार्गका साधकहरुलाई हेयको दृष्टिले हेर्दछन् ।

जुन वस्तुहरुलाई शास्त्रले तामसी भनि बर्जित गरेको छ, तिनै बस्तुलाइ ग्रहण गर्नु, अझ साधनाको नाममा तिनैमा लिप्त हुनु शास्त्र सम्मत नभएको र यस्ता कर्म सर्बथा त्याज्य हो भनि आलोचना गर्दछन् ।

उपनिषदको उपरोक्त व्याख्यालाई हेर्दा त्यतिबेला पनि अध्यात्म साधनाका दुई मार्गहरु रहेका, तिनमा एक क्रान्तिकारी (बाममार्ग) र अर्को परंपराबादी (दक्षिणमार्ग) रहेको देखिन्छ । अर्थात अध्यात्म साधनामा पनि परंपरागत सोच र विश्वास माथी परिवर्तनकारी विचार र विश्वास हावी हुँदै आएको, क्रान्तिकारी सोचलाई परम्परावादी सोच हुनेहरुले पचाउन नसकेको प्रष्ट देख्न सकिन्छ ।

यति बुझिसकेपछि हामीलाई बामपन्थ र दक्षिणपन्थ पूर्वीय संस्कृति र सभ्यतासंग जोडिएका उपनिषद र तीनमा बर्णित शव्दावली हुन् भन्न संकोच मान्नु पर्दैन । यि दुवै हाम्रा शब्द शव्दावली हुन् पश्चिमका होइनन् । (समसामयिक विषयमा कलम चलाउने पाण्डे पर्यटन व्यवसायी हुन ।)

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार १५:४५