२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

बुद्धभुमिको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

१४ असाेज, काठमाडौँ । बुद्धभुमि नेपाल हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका आठ लाख कित्ता आइपीओ निष्काशन गरेको हो । यसअनुसार कम्पनीले आठ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गरेको हो ।

लिमिटेडले ११ असोजमा सर्वसाधारणका लागि आइपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले निष्काशन गरेको कुल सेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कर्मचारीका लागि र पाँच प्रतिशत अर्थात् ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । सर्वसाधारणले बाँकी ७ लाख ४४ हजार कित्ताका लागि आवेदन दिन सक्ने बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार बुधबार बेलुका पाँच बजेसम्ममा कम्पनीको आइपीओमा १५ लाख ९० हजार चार सय १८ जना आवेदकले दुई करोड तीन लाख सात हजार दुई सय २० कित्ता सेयर खरिदको लागि आवेदन दिएका छन् । यो कम्पनीले बिक्रीमा ल्याएको आइपीओको १५ दशमलव ७६ गुणा धेरै हो । उक्त सेयरमा न्यूनतम १० कित्ताका लागि र अधिकतममा ५० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको उक्त आइपीओलाई इक्रा नेपालले इक्राएनपि आएआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

कम्पनीले गत साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि एक सय रुपैयाँ अंकित दरका कुल चार लाख कित्ता आइपीओ निष्काशनमा ल्याई बाँडफाँड गरिसकेको छ ।

कम्पनीले नुवाकोट जिल्लामा ५ मेगावाट क्षमताको तल्लो तादीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ। यो आयोजनाको प्रतिमेगावाट लागत २३ दशमलव ८० करोड रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : September 30, 2021 at 10:25 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/