११ पुष २०८१, बिहीबार | Thu Dec 26 2024

खेतीपातीको समयमा दाङमा रासायनिक मलको अभाव

१३ असोज, दाङ । दाङमा रासायनिक मलको अभाव देखिएको छ । खेतीपातीको समयमा रासायनिक मलको अभाव हुँदा यहाँका किसानले वर्सेनि सास्ती खेप्दै आएका छन् ।

दाङमा तोरी छर्ने सिजन सुरु भएसँगै रासायनिक मलको अभाव हुँदा किसानहरू चिन्तित बनेका छन् ।

यस वर्ष मात्र नभई खेतीपातीको समयमा विगतमा पनि रासायनिक मल अभाव हुने गरेको किसानहरूको गुनासो छ । दाङमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले कृषि सहकारीमार्फत अनुदानको मल वितरण गर्दै आएका छन् ।

कृषि सामग्री कम्पनीले ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत मल दाङमा आपूर्ति गर्दै आएका छन् । तर, किसानको मागबमोजिम रासायनिक मल उपलब्ध गराउन नसक्दा किसानहरू समस्यामा परेका हुन् ।

तुलसीपुर- ७ गणेशपुरका भागीरथ भण्डारीले मल पाउने आसमा कृषि सहकारी संस्थामा धाउन थालेको एक हप्ता भइसके पनि मल आउने कुनै टुंगो नभएपछि निराश बनेको बताए ।

सरकारले भारतसँग (जीटुजी)मार्फत रासायनिक मल खरिद गर्ने सम्झौता गरेको भए पनि मल कहिलेसम्म आइपुग्छ भन्न सक्ने अवस्था नभएको कृषि सामग्री कम्पनी लिमिटेड तुलसीपुर शाखा प्रमुख तीर्थराज न्यौपानेले बताए ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार १९:३४