१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

माथिल्लो आँखु खोलामा ५ बैंकले ५ अर्ब ५० करोड लगानी गर्ने

१३ असोज, काठमाडौँ । धादिङस्थित माथिल्लो आँखु खोला जलविद्युत् आयोजना (३८ मेगावाट) मा पाँच बैंकले ५ अर्ब ५० करोड लगानी गर्ने भएका छन् । आयोजनामा लगानी गर्नेगरी बुधबार आँखु खोला हाइड्रोपावर प्रालि र पाँच बैंकबीच सम्झौता भएको हो ।

उक्त आयोजना धादिङ्गको रुवीभ्याली गाँउपालिका तथा खनियाबास गाउँपालिकामा बन्दैछ । आँखु खोला हाइड्रो प्रालिद्वारा प्रर्वतित ३८ मेगावाट क्षमताको आयोजनामा सिटिजन्स बैंकको अगुवाइमा नेपाल एसबिआइ बैंक, नेपाल बंगलादेश बैंक, मेगा बैंक नेपाल र सिभिल बैंकबाट ऋण लगानी हुने भएको हो । प्रवद्र्धक कम्पनी एवं बैंकहरूबीच वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण सम्झौतामा हस्ताक्षर भएको छ ।

परियोजनाको अनुमानित लागत करिब ७ अर्ब ३३ करोडमा बैंकहरूको ७५ : २५ को ऋण : स्वपुँजी अनुपातमा ५ अर्ब ५० करोड बराबरको ऋण लगानी रहनेछ । २५ प्रतिशत स्वपुँजी प्रवद्र्धकहरूबाट जुटाइने छ ।

चार वर्षभित्रै आयोजना पुरा हुने

आयोजना आगामी चार वर्षभित्र नै निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गरिने बताइएको छ । आयोजनाले यसका लागि नेपाल विद्युत प्राधिकरण, विद्युत् विकास विभाग, वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायहरूमा गर्नुपर्ने सबै कानूनी प्रक्रियामा पुरा गरिसकेको छ र हाल आयोजना निर्माणाधीन अवस्थामा रहेको कम्पनीले जनाएको छ ।

निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको नुवाकोटस्थित त्रिशुली ३ बी हव सबस्टेशनमा जोडिने छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ६६ हजार ७०० गिगावाट घन्टा र बर्खामा १५२ दशमलव ४३८ गिगावाट गरी वार्षिक २१९ दशमलव १३८ गिगावाट घन्टा खुद विद्युत् उत्पादन हुनेछ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार १५:२४