२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

दशैँ खर्च जुटाउन १२ घण्टा आरनमा काम गर्दै

-प्रकाश पाक्साँवा

११ असोज, तेह्रथुम । उमेरले ६६ वर्ष पुगे तेह्रथुम छथर गाउँपालिका ६ सुदापका नृर्पेन्द्र शंखर । उनी बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म आरनमा नै भेटिन्छन् । दशै नजिकिँदै गर्दा उनी अझ बिहान सबेरैदेखि बेलुकी साँझसम्म आफ्नै आरनमा काम गरिरहेका हुन्छन् । दशैँ खर्च जुटाउन उनी आफ्नै आरनमा कृषि औजारका सामग्री बनाउन व्यस्त छन् ।

उनी र उनका छोराहरू एउटै आरनमा विभिन्न सामग्री बनाउँदै आएका छन् । १३ वर्षको उमेरदेखि यो पेसा अंगालेका नृर्पेन्द्र अझै यही पेसामा रमाइरहेका भेटिन्छन् । एक दशकअघिसम्म बालीघरे काम गर्दै आएका उनी यतिबेला ज्यालामा मात्र काम गर्दै आएका छन् । ‘बालिघर काम गर्दा पाँच पाथी अन्नमा गर्नुपथ्र्याे, त्यो पनि दिन गाह्रो मान्थे ।

काम भने गराउँथे । तर, अहिले बालिघरको काम छोडेर ज्यालमा गर्दै आएको छु’, उनले भने । यो पेसाबाट उनको जहान परिवार चलाउन सहज बन्दै आएको छ । घर खर्च र पेट पाल्नका लागि उनलाई समस्या छैन । उनी भन्छन्, ‘हामीले गरेको श्रमको मूल्य पाएका छौँ । तर, बजारको भने समस्या छ । हामीले उत्पादन गरेको सामग्री बिक्री गर्न राम्रो बजार पाउने हो भने युवाहरू रोजगारका लागि भौतारिनु रहनुपर्ने अवस्था छैन ।’ उनले उत्पादन गरेको सामग्रीहरू स्थानीय बजारमा खपत हुँदै आएको छ ।

मासिक २५ देखि ३० हजार आम्दानी गर्दै आएका छन् । यही सामान बिक्रीबाट आएको आम्दानीले नै परिवारको घरखर्च टार्दै आएका छन् ।उनी जस्तै उदय शंकर पनि आरन पेसामा नै रमाउँदै आएका छन् । उनलाई पनि दशैँ खर्च जोहो गर्न यतिबेला आरनमा नै विभिन्न सामग्री बनाइरहेका छन् । उनी आरनमा बनाइएका सामाग्री बिक्री गरेर दशैँ खर्च जुटाउने तरखरमा छन् । नृर्पेन्द्र र उदय जस्तै यहाँका युवाहरू आरन पेसाबाट नै परिवार धान्दै आएका छन् ।

खुकुरी, कोदालो, हँसिया, तरबार, कुटोलगायतका विभिन्न कृषि औजारहरू उत्पादन हुँदै आएका छन् । तेह्रथुको ओख्रे, जिल्ला सदरमुकाम म्याङलुङ, बसन्तपुर, शुक्रबारे तथा धनकुटाको सिधुवा र संखुवासभाको खाँदबारीलगायतका स्थानहरूमा बिक्री गर्दै आएका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार १२:५०