२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

३ असोजमा राजदूतको त्यो ‘एक्सन इन्ट्री’

-सुदीप पौडेल

३ असोज, काठमाडौँ । ३ असोज २०७२ । दुई दिनअघिबाट नयाँ बानेश्वरस्थित संविधानसभा भवनलाई बेहुलीझैँ सिंगारिएको थियो । शीतलनिवासबाट संविधानसभा भवनसम्म राष्ट्रपति डा.रामवरण यादवको बग्गीसहित गरिने सवारीको रिहर्सलले अघिल्लो दिन नै राजधानीवासीमा संविधान जारीको रौनकमा उत्साह थपेको थियो ।

१२ वैशाख ०७२ मा गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर ७ दशमलव ६ रेक्टरको शक्तिशाली भूकम्प गएपछि एकाएक प्रमुख राजनीतिक दलहरू संविधानसभाबाट संविधान जारी गर्न राजी भए । जसअनुसार ३ असोज ०७२ मा संविधानसभाबाट संविधान जारी गर्ने तयारी गरियो ।

संविधान निर्माणका क्रममा उठेको विवाद समाधान गर्दै, पारित गर्न बनाइएका केही नियम निलम्बन गर्दै ३० भदौ ०७२ मा संविधानसभाले संविधानका सबै धारा एकमुष्ट ९१ प्रतिशत बहुमतका साथ पारित ग-यो । संविधासभाले पारित गरेको संविधान ३ असोज ०७२ मा संविधानसभा बैठकमार्फत राष्ट्रपति यादवले घोषणा गर्ने कार्यक्रम तय गरियो ।

संविधानसभा घोषणा कार्यक्रमका लागि संविधानसभा भवनसहित काठमाडौं मुख्य चोकहरू सिंगारिएको थियो । संविधानसभा भवनको चारैतिर रंगीचंगी बत्ती जडान गरिएको थियो भने भवनको पूर्व, दक्षिण र पश्चिम दिशातर्फ फूल र घडाहरू राखेर आकर्षक बनाइएको थियो ।

देश–विदेशबाट चासोका साथ हेरिएको संविधान घोषणा कार्यक्रम भने कांग्रेसका प्रदीप गिरि, माओवादीका प्रभु साह र मधेसवादी दलका सभासद्हरूले बहिस्कार गरेकाले खल्लो महसुस गराएको थियो । संविधानको विपक्षमा राप्रपा नेपालका २५ सभासद्ले हस्ताक्षर गरेका थिए । देशभित्रबाटै जारी हुन लागेको संविधानलाई लिएर असन्तुष्टि सार्वजनिक हुने क्रम बढेको थियो ।

संविधान जारी गर्नबाट रोक्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत एस जयशंकरले भरपूर प्रयास गरेका थिए । उनी आउनुअघि नै नेपालका लागि भारतीय राजदूत रञ्जित रायले दलहरूमा दबाब सृजना गरेका थिए । तर, उनको प्रयास निरर्थक भएपछि जयशंकर काठमाडौं आएका थिए । उनको पनि केही सीप लागेन । यस अवस्थामा जारी हुन लागेको संविधान घोषणा कार्यक्रमप्रति नेपालीको मात्रै होइन, अन्तर्राष्ट्रिय जगतको पनि ध्यान खिचेको थियो ।

३ असोज ०७२ मा बिहानैदेखि संविधानसभा भवनमा चहलपहल थियो । मध्यान्हसम्ममा संविधानसभा भवन परिसरमा मानिस र सवारीसाधनको चाप थियो । भवन बाहिर हजारौँ नागरिक जम्मा भइसकेका थिए । दिउँसोबाट संविधान घोषणा कार्यक्रममा सहभागी हुन काठमाडौंस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरू आउनेक्रम सुरू भयो । उनीहरूलाई बैठक कक्षको बाल्कोनीमा बस्ने व्यवस्था मिलाइएको थियो ।

मर्यादापालकहरू आएका कूटनीतिक नियोगका प्रतिनिधिलाई भवन प्रवेशको मुख्य द्वारसँगै रहेको पश्चिमतिरको प्रवेश द्वारबाट स्वागत गर्दै प्रवेश गराइरहेका थिए । अधिकांश कूटनीतिक नियोगका प्रतिनिधि आइसकेका थिए । तर, चासो थियो– भारतीय राजदूतको । संविधान घोषणा कार्यक्रममा सहभागी हुन आएका कूटनीतिक नियोगका प्रतिनिधिहरू सामान्य शैलीमा उपस्थित भएका थिए । अधिकांश कूटनीतिज्ञ एउटै गाडीमा आएका थिए ।

दिन ढल्किँदै गर्दा आकाशमा लागेको बादलले रात पर्न लागेको भान पारिरहेको थियो । साँझ ५ बजे संविधान जारी भएको घोषणा गर्ने भनिए पनि विभिन्न कारणले ढिलाइ भइरहेको थियो । यसै कारणले होला भारतीय राजदूत राय पनि अरू कूटनीतिज्ञको तुलनामा ढिलै आए । तर, उनको आगमन साउथ इन्डियन फिल्मको हिरोको प्रवेश बिर्साउने खालको थियो । उनी सवार गाडीसँगै अरु दुई–तीनवटा गाडी आएका थिए ।

राजदूत सवार गाडी रोकिनेवित्तिकै पछाडि रहेका गाडीमा सवार कालोकोट पाइन्ट, चस्मा लगाएका अंगरक्षक उत्रिँदै दौडिएर अगाडि आए । राजदूतलाई घेरा हालेर सुरक्षा दिए । चारैतिर आफ्नै सुरक्षाकर्मीले सुरक्षा दिए पनि राजदूत रायको अनुहार भने मलिन थियो । कारण, उनैले जानून् । तर, उनलाई अंगरक्षकले अघि बढाउन खोज्दा संविधानसभाका मर्यादापालक आएर स्वागत गरे । राजदूत मुसुक्क हाँसे ।

अरु कूटनीतिज्ञलाई झैँ मर्यादापालक अलि झुकेर उनलाई संविधासभा भवनभित्र प्रवेश गराउन अघि बढाए, सँगैसँगै चार–पाँचजना राजदूतको सुरक्षामा खटिएका सादा पोसाकका सुरक्षाकर्मी पनि अघि बढे । उनीहरूलाई भवनभित्र प्रवेशको अनुमति नरहेको मर्यादापालकले बताए । तर, उनीहरू राजदूतसँगै भित्र जान खोजिरहेका थिए । केहीबेर मर्यादापालकसँग कुराकानीपछि उनीहरू फर्किए र संविधानसभा भवन बाहिरको प्रांगणमा बसे ।

साँझ ५ बजेर ५० मिनेटमा राष्ट्रपति यादवको सवारी भयो । उनको प्रवेशसँगै बैठक कक्ष र बाहिर निकै चहलपहल भयो । बैठक कक्षको दृश्य प्रोजेक्टरमार्फत बाहिर बसेकालाई हेर्ने व्यवस्था मिलाइएको थियो । राष्ट्रपति यादवले करिब ५ बजेर ५६ मिनेटमा संविधानको प्रतिलाई ढोगेर संविधानसभाबाट निर्मित संविधान लागू भएको घोषणा गरे ।

त्यसपछि राष्ट्रपति र सभाध्यक्ष सुवास नेम्वाङको सम्बोधनपछि घोषणा कार्यक्रम समापनमात्रै भएन, संविधासभा पनि स्वतः विघटन भयो ।संविधान जारी भएको घोषणाको दिन तराई मधेसमा ‘ब्ल्याक आउट’ गरिएको थियो भने बाँकी स्थानमा दीपावली गरेर स्वागत गरिएको थियो । सोही दिनबाट देखिएको असन्तुष्टिको ग्राफ सातौँ वर्षमा प्रवेश गर्दा पनि ओरालो लागेको छैन ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आईतवार १६:२१