१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

फोहोरलाई माेहाेर बनाउँदै मध्यपुर ठिमी

३ असोज, भक्तपुर । कोठैपिच्छेका थुप्रोहरू । कुनै फोहोर त कुनै माटो वा पातहरू । कुनै बिक्रीका लागि प्याकिङ्ग गरिएका मल । यो दृश्य भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा रहेको रिकिसी कम्पोष्ट मल प्रालिको हो ।

पछिल्लो समय स्थानीय तहलाई फोहोर व्यवस्थापन गर्न सकस भइरहँदा ठिमी नगरपालिकाले फोहोरबाट मोहर बनाउँदै आएको छ । पालिकाले फालिएकाे फोहोरलाई संकलन गर्दै कम्पोष्ट मल बनाउँदै आएको छ ।

वडा नम्बर ४ स्थित विष्णुकुण्डमा रहेको रिकिसीसँग समन्वय गरी स्थानीयको घरबाट निस्कने कुहिने फोहोरलाई निःशुल्क संकलन गरी मल बनाउँदै आएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए । उनले ‘पाइलट प्रोजेक्ट’को रुपमा काम सुरु गरेको जानकारी दिँदै कम्पनीले वडा नम्बर ४ र ५ का करिब ५ हजार घरधुरीबाट फोहोर संकलन गरी मल बनाउँदै आएको बताए ।

श्रेष्ठले भने, ‘फोहोर निःशुल्क रुपमा संकलन गर्दै आएको छ । सो क्षेत्रका स्थानीयले न त हामीलाई फोहोर कर तिर्नुपर्छ न त कम्पनीलाई नै । बरु सजिलै फोहोरको व्यवस्थापन भएकोमा स्थानीय मख्ख छन् ।’

अन्य वडाको फोहोर निजी कम्पनीले मासिक ३ सय रुपैयाँ तिरेर व्यवस्थापन गर्दै आएको उनले सुनाए । विस्तारै अरु वडामा पनि सो विधी प्रयोग गरी मल बनाउने योजना रहेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए।

कम्पनीले जापानको टाकजाई विधीबाट मल बनाउँदै आएको छ । ढुटाे, भुस, पात र रातो माटोको मिश्रणलाई टोकजाई भनिन्छ । स्थानीयलाई २० लिटर टोकजाई र ३२ लिटरको कम्पोष्ट बाल्टिन वितरण गरिन्छ। बाल्टिनमा कुहिने फोहोरलाई व्यवस्थित रुपमा राखिने र प्रत्येक साताको मंगलबार फोहोर संकलन गर्दै आएको कम्पनीले जनाएको छ ।

कम्पनीका निर्देशक उषा गिरिले मललाई भक्तपुरका स्थानीयलगायत तरकारी खेती, कृषि फार्ममा विक्री गर्दै आएको बताए । उनका अनुसार हालसम्म कम्पनीले ३ करोड बढीको मल विक्री गरिसकेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आईतवार १०:२७