तेह्रथुम पावरको आईपीओ बाँडफाँड, ७४ हजार ४ सयले पाए १० कित्ता सेयर
२५ भदाै, काठमाडाैँ । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आज (शुक्रबार) सेयर बाँडफाँड भएको हो ।
कम्पनीले बिक्रीमा ल्याएको कुल सेयरमध्ये २ प्रतिशत अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सात लाख ४४ हजार कित्ता सेयर मात्रै सर्वसाधारणमा बाँडफाँट गरेको हो । क्यापिटलका अनुसार आवेदकहरूमध्ये ७४ हजार चार सयजनालाई १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको छ।

कम्पनीको आईपीओमा २३ लाख ५५ हजार ४४७ आवेदकले कुल दुई करोड ७८ हजार चार सय कित्ता सेयरका लागि आवेदन दिएका थिए, जसमध्ये २३ लाख ४६ हजार ६ सय २७ आवेदकको आवेदन स्वीकृत भएको छ । त्यस्तै, बाँकी आठ हजार आाठ सय २० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।
कम्पनीले ९ देखि १३ भदौसम्म आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता सेयर निष्कासन गरेकाे थियो । हाल चुक्ता पुँजी २८ करोड रुपैयाँ रहेको कम्पनीको आईपीओ निष्कासनपश्चात चुक्ता पुँजी ४० करोड रुपैयाँ पुग्नेछ ।
प्रकाशित मिति : September 10, 2021 at 12:30 pm









