२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

सभामुख अग्नि सापकोटा किन आत्तिए र किन रिसाए ?

२३ भदाै, काठमाडाैँ । संघीय संसदको नवौँ अधिवेशन बुधबार अपरान्ह ठीक चार बजे सुरु भयो । राष्ट्रिय गान बजिसकेपछि सभामुखले ‘आजको बैठक प्रारम्भ हुन्छ’ भन्दै राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान सम्बन्धी प्राप्त पत्र पढेर सुनाउन थाले । पत्र पढ्न सुरु गरेलगत्तै एमाले सांसदहरु उठेर टेवुल ठोक्न थाले । टेवुल ठोक्न थालेलगत्तै सभामुखले एमाले प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्ने अनुमति दिए ।

भट्टराईले सभामुखको कमजोरी औँल्याउँदै बैठक चल्न नदिने बताएर बस्न नभ्याउँदै सभामुखले आत्तिएर लिखित पत्र पढ्न थाले ।उनले पत्रमा आफुले किन एमालेका १४ सांसदलाई कारबाहीको प्रक्रिया अघि नबढाएको भनेर बताउन नभ्याउदै एमाले सांसद उठेर रोष्टमतर्फ अघि बढे ।

रोष्टम नजिक पुगेर नारावाजी गरेपछि सभामुख थप हतास र आत्तिएको देखिन्थे । प्रचलित कानुनअनुसार आफूले निर्णय लिएको सभामुखले बताइरहँदा एमालेका सांसद रोष्टमतर्फ अघि बढे । त्यसपछि सभामुख सापकोटा आत्तिएको देखिन्थ्यो । आत्तिँदै सभामुख सापकोटाले भने, ‘नियमको २१ खण्ड ‘ख र ग’ ध्यानाकर्षण गर्छु ।’

सभामुखले नियमप्रति ध्यानाकर्षण गराएपनि एमालेको सांसदहरुको नाराबाजी रोकिएन । त्यसपछि डराएको भावमा सभामुख सापकोटाले भने, ‘माननीय सदस्यहरु, देशमा संविधान छ, कानुन छ, ऐन छ । मर्यादा बाहिर नजानु होला । संसदको गरिमा र मर्यादाभन्दा बाहिर नजानु होला । फेरि पनि म भन्छु, प्रतिनिधि सभा नियमावली २०७५ को ‘ख र ग’ तपाइँहरुलाई गम्भीर ढंगले आकर्षित गर्न चाहन्छु ।’

सभामुखको बारम्बारको चेतावनीपछि पनि एमाले सांसदहरुको नाराबाजी नरोकिएपछि बैठक १५ मिनेटका लागि स्थगित गरियो ।

प्रकाशित मिति : September 8, 2021 at 4:59 pm