२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

तनहुँमा किसान श्रेष्ठको प्रभाव शून्य, माओवादी लगाएर अपहरण गर्दा पनि ३ जना मात्रै

२२ भदाै, तनहुँ । मन्त्री हुन नपाएको झोकमा कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएका तनहुँ निर्वाचन क्षेत्र नं. १ का सांसद किसान श्रेष्ठको विपक्षमा स्थानीय जनप्रतिनिधी उभिएका छन् ।

तनहुँ निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित ७० जना जनप्रतिनिधी मध्ये जम्मा ३ जना मात्रैं एमाले फुटेर बनेको र सांसद श्रेष्ठ रहेको पार्टी समाजवादी रोजेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

सांसद श्रेष्ठको निर्वाचन क्षेत्रमा पर्ने भानु नगरपालिकामा एमालेबाट विजयी ३८ जना जनप्रतिनिधी मध्ये ३८ जना नै एमालेको पक्षमा उभिएका छन् । बन्दीपूर गाउँपालिकामा ५ जना पाँचै जना, देवघाट गाउँपालिकामा निर्वाचित १२ जना १२ जना नै एमालेको पक्षमा उभिएका छन् ।

व्यास नगरपालिकामा एमालेबाट निर्वाचित ४ जना जनप्रतिनिधी मध्ये २ जना र आँबुखैरहनी गाउँपालिकामा एमालेबाट निर्वाचित ११ जना मध्ये १० जना एमालेकै पक्षमा उभिएका छन् । समाजवादी तिर लागेका ब्यासका दुई जना जनप्रतिनिधी सांसद किसान श्रेष्ठकै पहलमा कांग्रेसबाट ल्याएर टिकट दिइएको थियो ।

उनीहरु जाँदा पार्टीलाई कुनै घाटा नभएको एमाले तनहुँ सचिव भगवती न्याैपानेले दावी गरिन् । यसरी हेर्दा तनहुँ क्षेत्र नं. १ मा अध्यादेशबाट बनेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पक्षमा जम्मा ४.२ प्रतिशतमात्रै जनप्रतिनिधी गएका छन् ।

आँबुखैरहनीका जनप्रतिनिधीलाई माओवादी लगाएर अपहरण गरियोः एमाले
एमालेबाट निर्वाचित आँबुखैरहनी नगरपालिका वडा नं. ३ का वडा सदस्य सञ्जय गुरुगलाई माओवादीका कार्यकर्ताले अपहरण गरेर सनाखतका लागि जिल्ला निर्वाचन कार्यालय लगेको एमाले तनहुँले जनाएको छ ।

एमाले तनहुँकी पार्टी सचिव भगवती न्यौपानेका अनुसार उनलाई गण्डकी प्रदेश सरकारका पूर्व आन्तरिक मामिला मन्त्री हरि चुमानका छोरा शुक्र चुमान र स्वकीय सचिव खुमबहादुर विकले अपहरणको शैलीमा निर्वाचन कार्यालय लगेको जनाएकी छिन् ।

एमाले तनहुँले सांसद किसान श्रेष्ठकै निर्देशनमा उनीहरुले गुरुगलाई जर्वजस्ती लगेको आरोप लगाएको छ । तनहुँका जनप्रतिनिधी तान्न भन्दै तनहुँ आएका सांसद श्रेष्ठ पोखरा पुगेर जनप्रतिनिधीलाई पोखरा बोलाएर विभिन्न बाहनामा फकाउने प्रयास गरे पनि उनी असफल बनेका छन् ।

एमालेबाट विजयी बनेका सांसद श्रेष्ठले आफू कांग्रेस र माओवादीको मतबाट विजयी बनेको सार्वजनिक रुपमा बताएपछि उनका विपक्षमा तनहुँका बहुसंख्यक जनप्रतिनिधी उभिएका हुन् ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलवार १९:४३