२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

सरकार स्वयं नै विदेशीसामू लम्पसार पर्दा नेपालको राष्ट्रियता संकटमाः अनेरास्ववियू

२१ भदाै, काठमाडाैँ । नेकपा एमालेको भ्रातृ संस्था अनेरास्ववियूले सरकार स्वयं नै विदेशीसामू लम्पसार पर्दा नेपालको राष्ट्रियता संकटमा परेको ठहर गरेको छ । अनेरास्ववियूका अध्यक्ष ऐन महरले विज्ञप्ति मार्फत यसको घोर भत्सर्ना गर्दै सरकारलाई सच्चित चेतावनी दिएका छन ।

अनेरास्ववियूको विज्ञप्तिमा भनिएको छ, ‘विश्वका अधिकांश देशहरु ब्रिटिस सांम्राज्यवादको कब्जामा रहँदा समेत पूर्खाले अंग्रेजहरुका विरुद्ध लडेर स्वतन्त्र र सार्बभौम राखेको यो देश नेपाललाई यसकोे स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता र स्वाभिमानको रक्षामा लाग्न जनताहरुलाई अपिल गर्नु पर्नेमा उल्टै सरकार स्वंयम् नै विदेशीको दलाली गर्दै लम्पसार पर्नु राष्ट्रको निम्ती ठूलो गद्दारी हो ।’

नेपाली नागरिक जयसिंह धामीको हत्याका विषयमा चुप बसेको सरकारको विज्ञप्तिवाला हर्कतले हरेक नागरिकको शिर निहुरिएको बताउँदै अनेरास्ववियूले भनेको छ, ‘देशभक्तिको भावनाबाट ओतप्रोत भई विदेशी हस्तक्षपको विरुद्धमा आवाज वुलन्द गरिरहेका सचेत नागरिहरुलाई लक्षित गरी सरकारले जारी गरेको आदेशले नेपाली जनता मर्माहत र सरकार प्रति लज्जित भएका छन् । राष्ट्रियताको सवालमा ढुलमुले प्रवृत्तिको यो सरकारले गत श्रावण १५ गते महाकालीमा तुईन तर्ने क्रममा भारतीय पक्षबाट तुईन काटी नेपाली युवा जयसिंह धामीको हत्या गरिएको विषयमा निरिह बनेको आम जनतालाई विदित नै छ।’

अनेरास्ववियूले जनादेश विपरित परमादेशबाट विदेशीहरुको कम्फर्टका लागि शेरबहादुर देउवाको नेतृत्वमा बनेको माप्रशे सरकारले गरेको गतिबिधि राष्ट्रको अहितमा रहेको बताएको छ । उसले विज्ञप्तिमा भनेको छ, ‘कठपुतली सरकारले नेपाली जनताको विगत ७० बर्ष देखिको संघर्षबाट निर्माण भएको संविधानले व्यवस्था गरेका नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वयतत्ता र स्वशासनको अधिकारलाई आत्मसात् गर्ने संविधानको मूल मर्म र जनताको आधारभूत अधिकारहरुको विरुद्धमा हुने गरी विदेशीहरुको स्वार्थको पक्षमा लाग्न जनतालाई निर्देशन दिँदै, विदेशी सरकारका विरुद्धमा बोल्ने, लेख्ने वा कुनै पनि विरोधी गतिविधि गरेमा नेपाल सरकारले कडा कारबाही गर्नेछ भनि जनतालाई धम्काई, डर र त्रास देखाई देशलाई विदेशिको रणभुमी बनाउने अभिप्राय रहेको नेपाल सरकार गृह मन्त्रालयको भाद्र १८ र २० गतेको विज्ञप्ति प्रति अनेरास्ववियु घोर भत्र्सना गर्दै गम्भिर आपत्ती प्रकट गर्दछ।’

अनेरास्ववियूले सरकार पीडित नेपालीलाई न्याय दिलाउनुको साटो भारतीय पक्षसँग मिलेमतो गरी घटनाको प्रमाण नष्ट गर्न, छानविन आयोगको प्रतिवेदन लुकाउन सरकार अभिषप्त लागिपरेको जनाएको छ ।  उसले भारतीय सेनाको हेलिकप्टर अबैध रुपमा नेपाली भूमिमा प्रवेश गरिरहँदा समेत सरकारले कुनै प्रतिक्रिया नजनाएकोमा पनि अापत्ति जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी सेनाहरुले नेपालका पहाडी भूभागहरुमा खुलम–खुल्ला रुपमा परेड खेलिरिहरँदा समेत सरकार मौन रहन अत्यन्त लजजास्पद रहेको छ। यसरी देशमा विदेशी हस्तक्षप भईरहँदा यसका विरुद्ध बिज्ञप्ति जारी गर्न नसक्ने सरकारले कुटनैतिक माध्यमबाट समस्याको समाधान गर्ने भन्ने बहाना बनाई विदेशी नेता र सरकारको तावेदारी गर्दै यसको विरोध गरे कारबाही गर्न तयार रहनुले नेपालको राष्ट्रियता संकटमा रहेको हामीले महशुस गरेका छाैँ ।’

सरकारले विरोध नबोल्न चेतावनी दिएको भए पनि देशका कुनाकुनाबाट सरकारी लम्पसारवादमको विरूद्धमा बोल्न अपिल गर्दै विज्ञप्तिमा भनिएको छ, ‘कुर्सीसँग राष्ट्रियता साटेका गठबन्धनका नेता र यिनीहरुको कठपुतली जनता प्रति निरंकुश सरकारले राष्ट्रियता विरुद्ध चालेका यस्ता कदम र जनतामा देखाएको त्रासको वास्ता नगरी राष्ट्र, राष्ट्रियता र स्वाधिनताका पक्षमा अनवरत रुपमा लाग्न नेपालका आम विद्यार्थी र जनसमुदायलाई अनेरास्ववियु हार्दिक अपिल गर्दछ । साथै सरकारका यस्ता कार्यलाई निरन्तरता दिँदै गए अनेरास्ववियुले राष्ट्र, राष्ट्रियता र स्वाधिनताका पक्षमा देशव्यापी आन्दोलनको आँधिवेहरी सिर्जना गर्नेछ ।’

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार १०:५५