२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

जन्मदिनको बिहानै आमा सम्झिदैँ भावुक बने एमाले सचिव योगेश भट्टराई

२१ भदौ, काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराई राजनीति गर्ने नेताहरूकोबीचमा अलि पृथक रूपमा चिनिन्छन । उनी रचनात्मकतामा अलि अगाडि छन । सचिव भट्टराईले प्रायः जन्मदिनमा ताप्लेजुङका गरिब विद्यार्थीका लागि छात्रवृतिको घोषणा गरेर सहयोग रकम पठाउने गरेका थिए ।

सोमबार बिहान भने भट्टराईको बिहानै सामाजिक सञ्जालमा लामो टिप्पणी लेखेर आमाको सम्झना गरेका छन । एक महिना अघि आमा गुमाउनु भएको सचिव भट्टराईले जन्मदिन सम्झाउँदै आमाले आशिर्वाद दिने गरेको स्मरण गरेका छन । भट्टराईले टिप्पणी जस्ताको त्यस्तै तल पढ्न सक्नुहुन्छ ।

भाद्र २१ मेरो जन्मदिन

प्राय भाद्र २१ गते बिहानै आमाले आज तेरो जन्मदिन हो, भनेर सम्झाउनु हुन्थ्यो र आशिर्वाद दिनु हुन्थ्यो । तर आज मेरा कानमा आमाको कुनै आवाज गुन्जिएन । एक महिना अघि मात्रै आमाले हामीलाई र यो धर्तीलाई छोडेर जानु भएको थियो । फेसबुक खोलेर हेर्दा मित्रहरुका शुभकामना सन्देशहरुले मलाई आजको दिन सम्झाइदिए । धन्यवाद सबै मित्रहरुलाई ।

मेरी आमाको भनाई अनुसार २०२३ साल भाद्र २१ गते अपरान्ह ४ :१५ बजे तिर वहाँले मलाई जन्माउनु भएको थियो । म जन्मेको दुई बर्ष मै हाम्रा बा बित्नु भयो । आमाले १२ सन्तानलाई जन्म दिनुभयो । बाबुको समेत भूमिका निभाएर आमाले हामीलाई हुर्काउनु भयो । कति बाल्य अवस्था मै बिते । बाँकीलाई बढाउनु भयो । पढाउनु भयो । संस्कार दिनु भयो । बाटो देखाउनु भयो । हिम्मत दिनुभयो । आमा सधैं हाम्रो शिरमा रहनु भयो र आमाको हात सधैं हाम्रो शिरमा रह्यो । आमाले आफू रित्तिएर हाम्रा लागि सबै दिनुभयो । आमाप्रति कुनै गुनासो छैन । बरु मैले आमाको दुधको रिण कति तिर्न सक्छु ? अहिले नै भन्न सक्दिन । तर मैले कोशिस गर्नेछु ।

आज मेरो जन्मदिन सम्पूर्ण रुपले मेरी आमामा समर्पित गर्दछु । मेरी आमाले हरबखत मलाई भन्नु भएको छ “असल काम गर्नु, कसैको कुभलो नचिताउनु ।” सुख या दु:ख दुबै अवस्थामा आमाका यिनै वाणी मेरो जिन्दगीका लागि प्रेरणा बनिरहने छन ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार ०९:०३