१० फाल्गुन २०८२, आईतवार | Sun Feb 22 2026

प्रभु बैंकले गेट कलेजका विद्यार्थीलाई शैक्षिक कर्जा प्रवाह गर्ने

१६ भदाै, काठमाडाैँ । प्रभु बैंकले काठमाण्डौको मन्डिकाटारस्थित ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज) मा अध्ययन गर्ने विद्यार्थीलाई शैक्षिक कर्जा उपलब्ध गराउने भएको छ।

आज प्रभु बैंक र गेट कलेजबीच त्यहाँ अध्ययन गर्ने विद्यार्थीलाई शैक्षिक कर्जा उपलब्ध गराउनेसम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौतापत्रमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेमराज लकाईले कलेजमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरेका छन्।

सम्झौताबमोजिम होटेल तथा पर्यटन विषय लिई उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई उक्त कलेजको सिफारिसमा प्रभु बैंकले आवश्यक प्रक्रिया पूरा गरी अधिकतम रु. ५ लाखसम्मको शैक्षिक कर्जा सुविधा उपलब्ध गराउनेछ। यो शैक्षिक कर्जा सुविधा रकम सहुलियतपूर्ण ब्याजदरमा उपलब्ध हुने बैंकले जनाएको छ।

शैक्षिक कर्जासम्बन्धी यो सम्झौताले आर्थिक अभावले होटेल म्यानेजमेन्ट तथा पर्यटनजस्तो प्राविधिक विषयमा उच्च शिक्षा अध्ययन गर्न कठिनाइ झेलिरहेका देशका क्षमतावान एवं जेहेन्दार विद्यार्थीहरुलाई उक्त कलेजमा भर्ना भई उच्च शिक्षा हासिल गर्न आर्थिक रुपमा सहयोग पुग्ने बैंकको विश्वास छ। यो सम्झौतापश्चात उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीले आर्थिक अभावमा उच्च शिक्षा हासिल गर्नबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य हुने आशा गरिएको छ।

यो सम्झौताले होटेल तथा पर्यटन क्षेत्रका लागि आवश्यक दक्ष एवं प्राविधिक जनशक्ति उत्पादन भई समग्र देश विकासमा योगदान पुग्ने बैंकले विश्वास लिएको छ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार १९:२९