२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

सभापतिमा उम्मेदवारी दिने कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङको घोषणा

१६ भदौ, काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरेर गुरुङले कांग्रेसको आसन्न १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

गुरुङ नेविसंघका पूर्वअध्यक्षसमेत हुन् । पार्टीमा उनी रामचन्द्र पौडेल समूहमा छन् । पत्रकार सम्मेलनमा गुरुङले नेता कार्यकर्ताको मागअनुसार उम्मेदवारी दिएको र चाँडै आफ्नो टिम सार्वजनिक गर्ने बताए ।

यसअघि कांग्रेस सभापतिमा उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी घाेषणा गरिसकेका छन् । उनले सम्पर्क कार्यालयसमेत खोलिसकेका छन् । महामन्त्रीमा गगन थापाले उम्मेदवारी घोषणा गरेका छन् ।

वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एकपटक नेतृत्वमा दोहोरिने इच्छा देखाएका छन्। महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसमा धमाधम उम्मेदवारी घोषणा हुन थालेको छ । कांग्रेस केन्द्रीय महाधिवेशन ९-१३ मंसिरसम्म हुनेछ । वडा र पालिका तहको भने यसै महिना सम्पन्न हुँदैछ ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार १५:३३