२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

काठमाडौँमा निषेधाज्ञाः विद्यालयबाहेक सबै क्षेत्र खुल्ने, सांकेतिक रुपमा चाडपर्व मनाउन पाइने

१६ भदाै, काठमाडाैँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको छ । बिहीबारदेखि लागू हुनेगरी भदौ मसान्तसम्म थपिएको निषेधाज्ञा खुकुलो पारिएको हो ।

जिल्ला प्रशासन कार्यालयबाट जारी विज्ञप्तिमा विद्यालयबाहेक अरु क्षेत्र स्वास्थ्यका मापदण्ड पालना गरेर खोल्न अनुमति दिइएको छ । चाडपर्व मनाउन छुट दिइएको छ ।

प्रशासनले शैक्षिक संस्थाहरु भौतिक उपस्थितिमा पठनपाठन र अनावश्यक भिडभाड गर्नबाहेक अन्य क्षेत्र खुला गरेको हो । पछिल्लो निषेधाज्ञामा चाडपर्वहरु स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी न्यूनतम सहभागितामा सांकेतिक रुपमा मनाउन भनिएको छ ।

त्यसैगरी स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गरेर सर्वसाधारण व्यक्ति, समूह तथा संस्थालगायतका निकायबाट आर्थिक, सामाजिक तथा व्यावसायिक गतिविधि सञ्चालन गर्न पाउने भनिएको छ ।

स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ देखि ७ बजेसम्मबाहेक गर्न पाउने भनिएको छ । सार्वजनिक तथा निजी निर्माण कार्यका लागि निर्माण सामग्री ढुवानी बेलुका ९ देखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाउने भनिएको छ । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले संक्रमण दर स्थिर रहेकाले निषेधाज्ञा केही खुकुलो बनाइएको बताए ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार १५:१९