१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

ढाका कपडाको व्यापार घट्यो, व्यवसायी संकटमा

१६ भदौ, तेह्रथुम । तेह्रथुममा ढाका कपडाको व्यापार घटेको छ । कोरोना भाइरस महामारीसँग डेढ वर्षयता ढाका कपडाको व्यापार प्रायः टप्प भएको हो ।

मेसिनबाट समेत ढाका कपडा बन्न पाइने भए पनि तेह्रथुममा हातैले कलात्मक ढंगबाट ढाका कपडा बुन्ने गरिन्छ । त्यही भएर तेह्रथुमे ढाकाको माग हुन्थ्यो ।

चाडपर्वमा ढाका कपडाको अत्यधिक माग हुने गरे पनि महामारीका कारण व्यापार नै हुन छाडेको उज्वलता ढाका कपडा उद्योगका सञ्चालक उज्वलता सुब्वाले बताइन् ।

महामारीभन्दा पहिलो दसैंताका १२ लाख रुपैयाँसम्मको ढाका कपडा बिक्री हुने गरेकामा अचेल मुस्किलले एक लाखसम्मको कारोबार हुने गरेको सुब्वाले बताइन् ।

तेह्रथुमको ढाका हङकङ, युके, सिंगापुर, भारत लगायतका देशमा पनि निर्यात हुथ्यो । कोरोनाका कारण ढाका व्यवसाय संकटमा परेकाले सरकारले उद्यमीलाई सरल व्याजमा ऋण दिनुपर्ने ढाका व्यवसायी श्रृजना लिम्वुको भनाइ छ ।

उद्यमीले हातैले बुनेर ढाकाको टोपी, साडी, कुर्ता सरवाल, पछ्यौरा, चौबन्दी चोलो, रुमाल, टप्स, स्काफ, टाई, पर्स, दौरा सुरुवालकोट, झोला, जुत्ता, चप्पललगायतका सामग्री बनाउँदै आएका छन् ।

न्युजकारखाना

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार १०:२२