१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

माधव नेपालले दुबै कार्यकारी पद कब्जा गरेपछि झलनाथले भनेः अब कार्यकारी पदमा दाबी गर्दिन


-सुप्रिया मुडभरी 

१४ भदौ, काठमाडौँ । माधवकुमार नेपालले एमाले फुटाएर बनाएको नयाँ दलमा दुबै पद कब्जा गरेपछि झलनाथ खनालले अब कुनै पनि कार्यकारी पदमा दाबी नगर्ने बताएका छन । सोमबार मिर्गौला प्रत्यारोपण गरी भारतको दिल्लीबाट स्वदेश फर्कनेक्रममा पूर्वप्रधानमन्त्री रहेका झलनाथ खनालले अब कार्यकारी पदमा आफ्नो दाबी नरहने बताए ।

पछिल्लाे वर्षहरूमा राष्ट्रपति हुनका लागि भनेर मेहनत गरेका खनालले परिणाम निकाल्न भने सकेनन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको सत्ता ढल्नेवत्तिकै राष्ट्रपति पद मुखमै आइपुग्छ भन्ने आश गरेका खनालले त्यसको पनि आश मारेका छन । उनले अब कार्यकारी पदमा दाबी नरहने बताए । नेपालले फुटाएर बनेको पार्टीको अध्यक्ष र संसदीय दलको नेता दुबै आफैँले राखेका छन ।

खनाल तीनै व्यक्ति हुन जसले १४ महिनासम्म नेकपामा आफ्नो तेस्रो वरियताका लागि ठूलो लडाइँ लडे । अडानका लागि योग्य र इमान्दार भनेर चिनिएका खनाल पनि माधव नेपालको लोभ र कुण्ठाको भेलमा सँगै लड्दै एमाले बाहिर पुगेका छन । उनले त्यही माधव नेपाललाई तेस्रो वरियता दिएकोमा ठूलो गुनासो गरे र आफू तेस्रो वरियतामा रहे । एमाले र माओवादी मिलेर नेकपा बन्दा खनाल नेपालमा नरहेका कारण उनीलाई चौँथो वरियतामा राखेर नेपालले तेस्रो वरियता कब्जा गरेका थिए ।

अहिले राष्ट्रपतिको लोभमा खनालसमेत तीनै माधव नेपालको दोस्रो वरियतामा रहने गरी वर्षौ मेहनत गरेको एमाले त्यागेर नयाँ पार्टीमा सक्रिय हुने बताएका छन । उनले अबको बाँकी जीवन राष्ट्रियता, लोकतन्त्र र कम्युनिष्ट आन्दोलनप्रति समर्पित रहने बताएका छन ।

सोमबार भारतको एपोलो अस्पतालमा उपचार गराएर फर्किएका वरिष्ठ नेता खनालले आफ्नो जीवन ‘बोनस’को जीवन भएको भन्दै देश, राष्ट्रियता र नेपाली मोडलको समाजवाद निर्माणका निम्ति खर्चिने बताए । आफ्नो लिखित वक्तव्य अरूलाई पढ्न दिएका खनालले आफू बाँकी जिवनमा कुनै कार्यकारी पद नलिने घोषणा गरे । खनालले रहरै गरेर पनि कुनै पद नपाउने परिस्थिति बनेपछि यस्तो घोषणा गरेको कतिपय नेताहरूले दाबी गरेका छन ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार १८:३१

https://srdb.com.np/