३१ बैशाख २०८१, सोमबार | Tue May 14 2024

आफ्नै प्रतिवद्धतामा माधव नेपालको गद्दारी, ठूलो भाग खान लामबद्धहरू ट्वाँ


१३ भदौ, काठमाडौँ । एक व्यक्ति एक पदको गफ दिने र विधि र पद्धतिको गफ दिने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नै प्रतिवद्धतामा गद्दारी गरेका छन । पदका लागि लोभ र कुण्ठाको भारी बोकेर दौडिरहेको आरोप लागेका नेता नेपालले उक्त आरोप प्रमाणित गरेका छन ।

नेकपा एमाले विभाजनसम्म पुर्याउनुअघि एमालेभित्रै उनले चलाएको एउटा महत्वपूर्ण अभियन एक व्यक्ति र एक पदको थियो । उनको त्यो अभियान कहिल्यै पनि उनको टिमका इमान्दार सदस्य रहेका ठाकुर गैरेहरूका लागि थिएन र त्यो उनैका लागि थियो भन्ने आज प्रमाणित भएको छ ।

एमालेमा रहँदा एक व्यक्ति र एक जिम्मेवारीको ठूलो कुरा गर्ने नेता नेपालले आज त्यो प्रतिवद्धता र विधि र पद्धतिको रटानमा धोति लगाएका छन । १५ वर्ष एमालेको महासचिव भएर युनिफिकेसन चर्चको कार्यक्रम रमाउने बानी परिसकेका नेपालले केपी ओलीको विरूद्ध आन्दोलन गर्दा भनेको एक व्यक्ति र एक पदको नारा आज एमाले फुटाएर नयाँ पार्टी बनाउँदा आँफैँले लत्याएका छन ।

ओलीलाई अध्यक्ष र संसदीय दलको नेता मध्ये एक रोज भनेर पटक पटक घाँटी न्याक्न प्रयास गरेका नेपालले आइतबारबाट त्यो सबै आफ्नो पदको लोभ र प्राप्तिका लागि रहेको थियो भन्ने पुष्टि गरेका छन । भनिन्छ समयले सबै कुरा पुष्टि गर्दै लग्छ ।

समाचार टिप्पणी 

एक दिनअघि अर्थात शनिबारमात्र नेता नेपालले एमालेका नेताहरूलाई निमन्त्रणा दिँदै अध्यक्ष पद लिन आग्रह गरेका थिए । त्यसको प्रतिक्रिया स्वरूप एमालेका उपाध्यक्ष डा भीमबहादुर रावल र सचिव योगेश भट्टराईले पहिला आफ्नै नजिककालाई अध्यक्ष हस्तान्तरण गरेर उदाहरण बन्न सुझाव दिएका थिए तर त्यसको २४ घण्टा पनि नबित्तै माधव नेपालले अध्यक्षको अलवा संसदीय दलको नेता पड्काएका छन ।

नेपाल अध्यक्ष भएपछि संसदीय दलको नेता बन्न पाइन्छ कि भनेर आश गरेका मुकुन्द न्यौपने लगायत नेपालको हिजोको विधि र पद्धतिको रटान सुनेका नेता र कार्यकर्ता ट्वाँ परेका छन । किनकी एक व्यक्ति एक पदको रटान लगाउने नेपालले एक सातामै दुई महत्वपूर्ण पद कब्जा गरेका छन ।

अब माधव नेपालबाट चाँडै नै पीडित हुने लहरमा सुदुरपश्चिमबाट राजनीति गर्ने प्रेम आले पर्नेछन । किनकी माधव नेपालले बामदेव गौतम, झलनाथ खनाल र आले समूहका लागि एक एक मन्त्री भन्दा बढी दिन सक्ने अवस्था छैन् । त्यसमा देउवा पनि रोजाइमा पर्ने भएकाले किसान श्रेष्ठ मन्त्री बन्ने हुँदा आले भने ट्वाँ पर्ने सूचीमा थपिने सम्भावना रहेको एकीकृत समाजवादीका नेताहरूले बताएका छन ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आईतवार २०:०२

https://srdb.com.np/