२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

कपिलवस्तु जिल्ला अध्यक्ष विष्णु पन्थीले छोडे माधव नेपालको साथ

१३ भदौ, रुपन्देही । माधव नेपाल समूहले कपिलवस्तुमा गठन गरेको समानान्तर कमिटीका अध्यक्ष तथा लुम्बिनी प्रदेश सांसद विष्णु पन्थी एमालेमै रहेका छन् । नेपाल समूहमा लामो समय रहेका नेता पन्थीले कपिलवस्तुमा युवासंघको भेलालाई सम्बोधन गर्दै आफूहरु पार्टी विभाजनमा कसैलाई साथ दिन नसक्ने बताउदै एमालेमै रहने घोषणा गरेका हुन् ।

पन्थीले माधव नेपालले पार्टी फुटाएर ठूलो भूल गरेको बताउँदै, पार्टीभित्रै रहेर अन्तरसंघर्षका लागि विगतमा माधवलाइए साथ दिएपनि अब साथ दिन नसकिने बताए । पार्टी विभाजनबाट कसैको भलो नहुनेभन्दै पन्थीले पार्टीभित्रको अन्तरसंघर्ष पार्टी फोड्न नभई पार्टी बलियो बनाउने उद्देश्यले गरिएको बताए । लुम्बिनी प्रदेशसभामा माधव नेपाल समूहमा गनिदै आएका पन्थीले एमालेबाट छुटिएर नयाँ दल खुले पनि कपिलवस्तु र प्रदेशमा सामान्य प्रभावसमेत नपर्ने ठोकुवा गरेका छन् ।

पन्थीले अहिले जनतामा गठबन्धन सरकारले भ्रम फैलाई एमालेका कार्यकर्ता फकाउने काम सुरु गर्न लागेको भन्दै युवाहरुले त्यसको प्रतिकार गर्नु पर्ने बताए । नेपाल समूहले कपिलवस्तुमा गठन गरेको समानान्तर कमिटीको अध्यक्ष नै एमालेमै रहेपछि कपिलवस्तुमा माधव नेपाल समूह थप कमजोर भएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आईतवार १५:३२