२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

कैलालीमा बाढीको वितण्डाः एक जनाको मृत्यु, सयभन्दा बढी घर प्रभावित

११ भदाै, धनगढी। बिहीबार राती परेको बर्षाका कारण कैलालीका विभिन्न क्षेत्रमा आएको बाढीले जनजीवन कष्टकर बनाएको छ । कैलालीका विभिन्न नदीमा आएको बाढी बस्तीमा पसेपछि धनजनको क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बाढीका कारण लम्कीचुहा नगरपालिका–६ कि ९५ वर्षीया फुपिया थारुको मृत्यु भएको छ ।

गुलरा नदीले बगाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए । बाढीमा परेका दुईजनाको भने उद्धार गरिएको छ । प्रहरीका अनुसार कैलालीको गौरीगंगा नगरपालिका–३ कुचैनी बस्ने दाजुबहिनी राजाराम सापकोटा र आरती सापकोटा घाँस काट्न गएको बेला शिवगंगा नदी र झिलखोलाकोबीच भागमा फसेका थिए ।

उनीहरुको मध्यराति उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । उनीहरुको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबल गरि करिब ५० जनाको टोलीले उद्धार गरेको सूचना अधिकारी जोशीले बताए । बाढीले जिल्लामा एक घर बगाएको छ भने सय बढी घरमा पानी पसेको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीकाअनुसार गोदावरी नगरपालिका–४ स्थित गोदावरी नदीमा बाढी आउँदा कैलाली–कञ्चनपुर जोड्ने स्काइ फोल्डिङ पुल, दुर्गा मन्दिरस्थित गणेशदत्त पाण्डेको इँटाले बनेको टिनले छाएको एक कोठे किराना पसल र काठले बनेको टिनले छाएको प्रतिक्षालय बगाएको छ ।

यस्तै धनगढी उपमहानगरपालिका ३ र कञ्चनपुरको बाइसेविचुवा जोड्ने मोहना नदीमा निर्माणाधीन पक्कीपुलको दुवै किनारमा भरान गरिएको माटो बगाउँदा आवागमन ठप्प भएको छ । पथरैया नदीमा आएको बाढी बस्तीमा पसेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । जानकी गाउँपालिका वडा नम्बर ४ र ७ मा पथरैया नदी बस्तीमा पसेको प्रशासनका सूचना अधिकारी शिवराज जोशीले बताए ।

‘जानकी गाउँपालिका वडा नम्बर ४ का ८० घर र वडा नम्बर ७ का ५८ घरमा पानी पसेको छ’, उनले भने, ‘सशस्त्र प्रहरीको टोली त्यहाँ उद्धारको लागि खटिएको छ ।’ यस्तै कर्णाली तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय कैलालीले आग्रह गरेको छ । चुरे क्षेत्रमा भइरहेको लगातारको वर्षाका कारण कर्णाली नदीले तटबन्ध भत्काएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी जोशीले बताए ।

यस्तै कैलारी गाउँपालिका वठा नम्बर ७ छटकपुर बसन्ता गाउँमा कटैनी नदिमा आएको बाढी पसेको छ । नदिमा आएको बाढी ३० भन्दा बढी घरमा पसेको स्थानीय जीया चौधरीले जानकारी दिए । यस्तै कटैनी नदिको बाढी वडा नम्बर ७ अन्तर्गत बर्का बसन्ता, भुँइयाँफाँटा र रामपुर गाउँमा पनि पानी पसेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार १५:४६