२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

आजदेखि काठमाडौँका यी स्थानमा भेरोसेल खोपको दोस्रो मात्रा लगाइदै

११ भदाै, काठमाडौँ । सरकारले कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि १३ गतेसम्म काठमाडौँ जिल्लामा लगाउने भएको छ । तीन दिन भेरोसेलको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको खोप दिन थालेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए ।

भेरोसेल खोपको पहिलो मात्रा लगाएका ५० वर्ष वा सो भन्दामाथि उमेर समूहका सबैलाई दोस्रो मात्रा दिइने छ । यस्तै विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी सार्वजनिक यातायातका चालक र सहचालकले पनि खोप पाउने छन् । सरकारले तोकेको अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा खोप अनिवार्य गरिएका देशमा जाने नेपालीलाई पनि भेरोसेलको दोस्रो मात्रा दिइने छ । भेरोसेलको पहिलो मात्रा लगाएका र यसअघिका छुटेका अन्यलाई पनि खोप दिइनेछ ।

काठमाडौँका सबै स्थानीय तहमा १४६ खोप केन्द्रका राखिएको छ । यस्तै काठमाडौँ महानगरपालिकामा बस्ने सर्वसाधारणलाई मध्यनजर गर्दै थप आठ खोप केन्द्र थपिएका छन् । जसअनुसार राधास्वामी आइसोलेसन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र नेपाल प्रहरी अस्पताल रहेका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार ११:२७