२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

श्रीमती र छोरीलाई एसिड हान्ने सञ्जीव साहलाई सजाय सुनाइँदै

१० भदौ, जनकपुरधाम । श्रीमती र छोरीलाई एसिड प्रहार गरी घाइते बनाउने सञ्जीव साहविरुद्ध सजाय निर्धारणका लागि आज जिल्ला अदालतमा पेसी तोकिएको छ । न्यायाधीश कृष्णमुरारी शिवाकोटीको इजलासमा सजाय निर्धारणका लागि पेसी तोकिएको जिल्ला अदालत धनुषाले जनाएको छ । गत १९ कात्तिकमा दीपावलीको दिन जनकपुरधाम उपमहानगरपालिका–७ स्थित ससुराली पुगेका साहले श्रीमती आरती साह र छोरी रियामाथि एसिड प्रहार गरेका थिए ।

सो घटनामा जिल्ला अदालत धनुषाले यसअघि उनलाई दोषी ठहर गरेको थियो । यसै घटनामा एसिड बेच्ने नागेन्द्र साहलाई भने अदालतले सफाइ दिएको थियो । घटनापछि सरकारी वकिलको कार्यालयले जिल्ला अदालत धनुषामा आरतीका श्रीमान् र एसिड बेच्ने नागेन्द्र साहमाथि १५ वर्ष ६ महिनाको सजाय माग गर्दै अभियोग पत्र दर्ता गराएको थियो ।

दुवैजनाबिरुद्ध अंगभंग, कुरुप र एकीकृत गरी तीनवटा कसुरको सजायका लागि मागदाबी गरिएको थियो । एसिड आक्रमणबाट आरतीको दाहिने आँखा गुम्नुका साथै घाँटी, छाती, स्तनलगायतका अंग कुरुप बनेको छ । एसिड आक्रमणमा परी उनकै छोरी रियाको दाहिने हात र टाउकोमा खत बसेको थियो ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार ११:२३