१८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026

जनविश्वासले जोगिएको माछा, पर्यटकको आकर्षण केन्द्र

१० भदौ, खोटाङ । पानीको मुहानबाट भुलभुल पानी निस्किरहेको छ । ढुंगाको कापमुनिबाट निस्केको खोलाजत्रै मुहानमा मनै लोभ्याउनेगरी असला माछा खेलिरहेको छ । यो दृश्य खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित भुलभुले दुधकुण्ड देउधामको हो ।

पासो थाप्ने, जथाभावी करेन्ट र विष हाल्ने प्रचलनले अधिकांश खोलामा माछाको अस्तित्व संकटमा पर्दै गएको अवस्थामा भुलभुले दुधकुण्ड देउधाममा भने स्याउँ–स्याउँती माछा खेलिरहेको देख्न सकिन्छ । पानीमा तलमाथि गर्दै खेलिरहेका माछा दर्शनार्थीले चढाएका चामल, बिस्कुट, खान तँछाडमछाड गरिरहेको दृश्यले जो कोहीको मन लोभ्याउने गरेको छ ।

खोलानालामा माछा पाउन मुस्किल पर्दै गएको अवस्थामा भुलभुले दुधकुण्ड देउधाममा बग्रेल्ती माछा पाइनुका पछाडि भने विशेष धार्मिक मान्यता छ । जिल्लाकै धार्मिक तथा पर्यटकीयस्थलकारुपमा रहेको सो स्थानमा पाइने माछा मारे वा खाएमा अनिष्ट हुने जनविश्वासका कारण माछा फस्टाएको पुजारी दीर्घराज राईले बताए । उनकाअनुसार परापूर्व कालदेखि नै सो स्थानको माछा मार्ने गरिएको छैन । ‘पहिल्यैदेखि यहाँको माछा कसैले मार्दैन’, पुजारी राईले भने, ‘मारेमा दोष दिन्छ, मार्नेलाई राम्रो हुँदैन भन्ने विश्वास छ ।’

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रमुख पर्यटकीय क्षेत्रकारुपमा विकास गर्दै लगेको भुलभुले दुधकुण्ड देउधाममा रहेको पानीको मुहानभन्दा थोरैमुनि पोखरी निर्माण गरिएको छ । तर, माछा भने पोखरीमाभन्दा मुहानमै रमाइरहेको देखिन्छ । सो स्थानको माछा खाएमा बिरामी हुने, मृत्यु हुनेदेखि शाखासन्तान मासिनेसम्मको अनिष्ट हुने धार्मिक मान्यता छ । यही धार्मिक मान्यतामा जोगिएको माछा हिजोआज भुलभुले दुधकुण्ड पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।

माछालाई चामल, बिस्कुट दिएर रमाइलो गर्ने प्रचलन छ । पानीमा खेलिरहेका माछाको तस्बिर सामाजिक सञ्जालभरी पोष्ट हुने गरेको छ । विशेषगरी किराँत र हिन्दु धर्मावलम्बीको धार्मिकस्थलका रुपमा रहेको स्थलमा दैनिकजसो आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गरेको छ ।

भुलभुले दुधकुण्ड देउधाम गन्तव्यस्थल बन्दै

भुलभुल पानी निस्कने र असला माछा पाइने भुलभुले दुधकुण्ड देउधामको पर्यटन प्रवद्र्धनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आवश्यक संरचना निर्माण गरेको छ । भुलभुले दुधकुण्ड देउधामको स्तरोन्नती गर्दै पर्यटन प्रवर्द्धनका लागि गेट, रेलिङसहितको सिँडी, सात धारा, राउण्ड पोखरी, कम्पाउण्ड, छानासहितको बस्ने फलामे बेञ्चलगातका संरचना निर्माण गरेको हो । मध्यपहाडी लोकमार्गले छोएको भुलभुले दुधकुण्ड देउधाममा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै स्थानीयको आर्थिक सम्वृद्धिका लागि मानव निर्मित संरचना थपिएको मेयर दिपनारायण रिजाल बताउँछन् ।

भुलभुले दुधकुण्ड देउधाममा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने लक्ष्यका साथ नगरपालिकाको ४० लाख रूपैयाँको खर्चमा आकर्षक संरचना थप गरिएको हो । पछिल्लो समयमा स्वतःस्फूर्तरुपमा आन्तरिक तथा बाह्या पर्यटकको गन्तव्य थलोकारुपमा बिकास हुँदै गएको भुलभुले दुधकुण्ड देउधामको कम्पाउण्डभित्र काटिएका ढुंगा ओछ्याइएको, घुमफिरकाक्रममा विश्रामका लागि छानासहितको पाँचवटा फलामे बेञ्च, सातवटा ढुंगे धारा जिर्णोद्धार, बीचमा गणेशको मूर्ति राखिएको राउण्ड पोखरी, जलपादेवीको मन्दिर, बगैंचा, रातका लागि नाइट बत्ती, सिँढी, रेलिङ, फोहोर फाल्ने टोकरी, जुत्ताचप्पल राख्ने र्‍याक, तस्बिरसहितको सूचना पार्टी लगायतका संरचना निर्माण गरिएको भुलभुले दुधकुण्ड देउधाम निर्माण समितिका सचिव लोकेन्द्र राईले बताए ।

यसअघि नै बुढानिलकण्ठ, पोखरी, किराँत राजा यलम्बरको शालिक, शिव मन्दिर, ढुंगेधारालगायत निर्माण गरिसकिएको भुलभुले दुधकुण्ड देउधाममा निर्माण गरिएको नयाँ संरचनाले आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्ने मेयर रिजालले बताए । पर्यटनको प्रचुर सम्भावना भएपनि प्रचारप्रसारको अभावमा ओझेलमा रहेको देउधाममा नयाँ संरचना निर्माणकाक्रममा पुरानो शिव मन्दिरको जिर्णोद्धारसमेत गरिएको छ ।

ढुंगाको कापबाट खोलाजत्रो पानी निस्किएको, पानीको मुहानमा खेलिरहेका असला माछा, ढुंगेधाराबाट छल्किरहेका पानी भुलभुले दुधकुण्ड देउधामको प्रमुख आकर्षण हुन् । भुलभुले दुधकुण्ड देउधाममा पुग्ने पर्यटकलाई सोभन्दा माथि रहेको रुवालुङ झरनासम्म पुर्‍याउनका लागि पदमार्ग निर्माणको कामसमेत भइरहेको सचिव राईले बताए । शिज, गणेश, बुढानिलकण्ठ, तीनकन्या जालपादेवी, सिद्धसिकारी र यलम्बरको पूजाआजा गर्नका भुलभुले दुधकुण्ड देउधाममा स्थानीयको भीड लाग्ने गरेको छ । बुढापाकाअनुसार परापूर्व कालमा गोठालाले भुल्केको पानीको मुहानबाट दुध बगिरहेको भेट्टाए । चाख्दा दुधकै स्वाद आउने दुधरुपी पानीलाई गोठमा लगेर उमालेर कुँडोमा हाल्दा भने पुनः पानी बनेकाले सो स्थानलाई दुधकुण्ड भन्न थालिएको किंवदन्ती रहिआएको छ ।

स्थानीयकाअनुसार पहिला जलकन्य देवीकोमात्र पूजाआजा गरिँदैआइएको भुलभुले दुधकुण्ड देउधाममा २०४५ सालमा बुढानिकलकण्ठको मूर्तिको जिर्णोद्धार र यलम्बरको मूर्ति राख्ने काम गरिएको थियो । देउधामकोरुपमा विकास गरिएसँगै भुल्केमा शिवजीको मन्दिर, पोखरी, सात ढुंगेधारा निर्माणका काम गरिएको हो । सुरुका समय सानो मेला लाग्ने भुल्केमा २०४५ सालबाटै वर्षमा एक पल्ट ठूलो मेला लगाउन थालिएको हो ।

प्रकाशित मिति : August 26, 2021 at 10:59 am