२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

दल सनाखतका लागि आज माधव नेपाल र महन्थ ठाकुर निर्वाचन आयोग जाँदै

९ भदौ, काठमाडौँ । दल दर्ता सनाखतका लागि प्रस्तावित दुई पार्टीका नेताहरू आज निर्वाचन आयोग जाँदैछन् ।नेकपा एमालेबाट विभाजित माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी (जसपा) पार्टीबाट अलग भएकाे महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीकाे दर्ता सनाखतको प्रक्रिया सुरु हुन लागेको हो ।

यसअघि आयोगका हस्ताक्षर बुझाएका प्रस्तावित दुवै दलका नेताहरू सनाखतका लागि आज बिहान साढे ११ बजे आयोग जाँदैछन् । ‘बुधबार साढे ११ देखि दिउँसो २ बजेसम्म सनाखतको समयावधि तोकेका छौँ,’ आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमालाले न्यूज कारखानासँग भने ।

उनका अनुसार सनाखतका लागि सशरीर उपस्थित हुनुपर्नेछ । ‘सामान्य मान्यता सनाखत भनेको पहिलेको दस्तखत रुजु गर्ने हो,’ उनले भने, ‘दिल्लीमा रहनुभएका झलनाथ खनालका विषयमा आयोगले नै निर्णय गर्ला ।’ सनाखत भइसकेपछि छानबिन गर्न आयोगलाई ४५ दिनसम्म समय हुन्छ । तर, त्यतिधेरै समय नलाग्ने उनले बताए ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार ०९:१५