२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेस जिल्ला सभापतिहरूको धर्ना

८ भदाै, काठमाडौँ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरुले आज पार्टी कार्यालय सानेपामा धर्ना दिएका हुन् । पार्टीले क्रियाशील सदस्यताको सूची सार्वजनिक नगरेकामा रुष्ट बनेका सभापतिहरुले सूची सार्वजनिक गर्ने लगायतका माग राखेर धर्ना शुरु गरेका हुन् ।

निर्वाचन निर्देशिकामा सबै जिल्ला र तहमा एकरूपता ल्याउन पनि सभापतिहरुले माग गरेका छन् । एकमात्रै निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला सभापतिको उम्मेदवार बन्न महाधिवेशन प्रतिनिधि हुनुनपर्ने व्यवस्था हटाउन पनि उनीहरुले माग गरेका छन् । क्रियाशील सदस्यताको सूचीमा हुने त्रुटी विधान र मापदण्डबमोजिम छानबिन गरी अन्तिम रुप दिइनुपर्ने धर्नामा सहभागि नुवाकोटका जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले बताए।

धर्नामा २३ जिल्लाका सभापतिहरु सहभागी छन् । उनीहरुले आज दुई घण्टा धर्ना दिने र भोलीसम्म पनि माग पूरा नभए निरन्तर धर्नामा बस्ने केसीले बताए।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलवार १२:५०